March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

सुदूरपश्चिमका १० एनसेल टावरमा आगजनी

डोटी साउन १६(ई–रैवार)
बुधबार राती सुदूरपश्चिमका १० वटा एनसेलका टावरहरुमा आगजनी भएको छ ।
प्रहरीका अनुसार डोटी, डडेल्धुरा, कैलाली, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा आगजनी भएको छ । जसमध्ये कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र डडेल्धुराका एक÷एक टावरमा आगजनी गरिएको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार राति जोरायल गाउँपालिका–१ घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको छ । आगजनीबाट सिस्टम सञ्चालन गर्ने विभिन्न केवलहरु, बिटिएस ¥याक, ब्याट्री ¥याक, एसइडिपी च्यानललगायतका सामानहरु जलेका छन् । घटना राती १० बजेपछिको हुनसक्ने प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए । ‘त्यतिञ्जेल हाम्रो प्रहरी त्यहीँ सुरक्षामा थियो,’ उनले भने,‘पछि सुरक्षार्थ अर्को टावरमा गएपछि आगजनी भएको हुनसक्छ ।’
डडेल्धुराको आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएअनुसार राती करिब ११ बजेतिर घटना भएको हो । घटनाको संलग्नता भने अझै खुलेको छैन् । ‘घटनास्थल टोली(प्रहरी) पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काकाले भने, ‘त्यहाँ पर्चा पम्लेट केही भेटिएको छैन् । बाँकी अनुसन्धानबाट खुल्नेछ ।’
जिल्ला सदरमूकामबाट टाढा रहेको टावरमा चौकीदारको मात्रै सुरक्षा थियो । चौकीदार समेत नरहेको अवस्थामा नजिकै रहेको नेपाल टेलिकमको टावरका चौकिदारले खबर गरेपछि घटनाबारे थाहा भएको प्रहरी निरीक्षक खड्काले बताए ।
कैलालीका प्रहरी नायब उपरीरक्षक दक्ष बहादुर बस्नेतले धनगढी उप–महानगरपालिका वडा नम्बर ६, जानकी गाउँपालिका वडा नम्बर २ र ४, र गोदावरी नगरपालिका वडा नम्बर ९ मालाखेतीमा रहेको एक टावरमा आगजनी गरिएको जानकारी दिए । आगजनीबाट टावरमा रहेका विभिन्न उपकरण, जनेरेटर र कन्टोल बक्स लगायतका समान जलेको उनले बताए।
घटनामा विप्लप समुहको नेकपाको संलग्नता रहेको प्रहरीको अनुमान छ । यद्यपी घटनाको जिम्मेवारी भने कसैले लिएको छैन् । ‘अन्य ठाउँमा यस्तो कार्यमा विप्लप समुहकै संलग्नता देखिन्छ । यहाँपनि त्यही हुनसक्छ,’ जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले भने ।