कर्णाली प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

सुर्खेत : कर्णाली प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु गरिएको छ ।
शनिबार (साउन ९) बेलुका प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गरेका थिए । त्यससँगै उनले मुख्यमन्त्री पदका निम्ति बहुमतको दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई यही साउन १२ गते अपराह्न ५ बजेसम्मको समय दिएका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका सचिव हिरालाल चौधरीद्वारा जारी विज्ञप्तिअनुसार, मुख्यमन्त्री कँडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम शनिबार साँझ ५ बजे लिखित राजीनामा दिएका थिए । प्रदेश प्रमुख जोशीले उक्त राजीनामा यही दिनदेखि लागु हुने गरी स्वीकृत गरेका छन् ।
राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका निम्ति प्रक्रिया अघि बढाएका हुन् । यो व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले निर्धारित समयभित्र मुख्यमन्त्री पदमा आफ्नो दाबी पेस गर्न सक्नेछन् ।
प्रदेश प्रमुखको कार्यालयले यसबारे कर्णाली प्रदेशसभा सचिवालयलाई समेत जानकारी गराएको छ । सचिवालयमार्फत प्रदेशसभा सदस्यलाई संवैधानिक व्यवस्थाअनुसार दाबी पेस गर्न आह्वान गरिएको हो ।
शनिबारै अपराह्न मुख्यमन्त्री कँडेलले प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका थिए । त्यसपछि प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामापत्र बुझाएका हुन् । उनको राजीनामासँगै प्रदेश सरकारको नेतृत्व परिवर्तनको औपचारिक प्रक्रिया सुरु भएको हो ।
अब साउन १२ गते अपराह्न ५ बजेसम्म बहुमतको समर्थनसहित दाबी पेस भए प्रदेश प्रमुखले संविधानबमोजिम नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन् । तोकिएको अवधिभित्र दाबी नपरे वा बहुमत पुष्टि हुन नसके संविधानमा व्यवस्था भएअनुसार सरकार गठनको अर्को प्रक्रिया अघि बढाइनेछ ।
मंगलबहादुर शाही बन्दै मुख्यमन्त्री
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच शनिबार भएको प्रदेश सरकार भागबण्डाअन्तर्गत कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले दलको नेता हुँदाहुँदै अरु व्यक्तिका बारेमा छलफल गर्न आवश्यक नहुने बताए । त्यहाँ माधवकुमार नेपाल नेतृत्वको साविक नेकपा एसका तर्फबाट प्रदेशसभा सदस्य कल्याणी खड्काले मुख्यमन्त्री दावी गर्नसक्ने सम्भावना न्यून रहेको ज्वालाले बताए । मुख्यमन्त्री चयनका लागि आइतबार सुर्खेतमा बैठक बोलाइएको जानकारी उनले दिए ।
शाही मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने खड्का रुकुम पश्चिमकी हुन् । तर, साबिक नेकपा एसले तत्काल कुनै पनि प्रदेशमा मुख्यमन्त्री दावी नगरेको ज्वालाको भनाइ छ । ‘सहमतिमा कोही साथीको प्रस्ताव आएमा छलफल गर्न सकिन्छ, तर त्यस्तो तयारी छैन,’ उनले भने ।





प्रतिकृया दिनुहोस्