कारागारभित्रको झडपमा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले पाँच लाख राहत दिने

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने भएको छ।
सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको आइतबार बसेको बैठकले धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय मृतक कैदीबन्दी भरत चौधरीको परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले झडपमा घाइते भएका सम्पूर्ण ४७ जना कैदीबन्दीको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय पनि गरेको छ। कैलाली कारागारभित्र २३ गते राति कैदीबन्दीहरूको दुई समूहबीच झडप हुदाँ एक जनाको निधन भएको थियो। भने ४७ जनाभन्दा बढी कैदीबन्दी घाइते भएका थिए।
सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठकपछि जारी वक्तव्यमा कारागारभित्र हेलोजन लाइट, सिसिटिभी क्यामेरा शीघ्र जडान गर्ने निर्णय गरिएको छ। त्यस्तै कारागारको छानालगायत आवश्यक मर्मतसम्भार कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल सुरू गर्ने पनि उल्लेख छ।
कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि तत्काल आवश्यक पर्ने उपकरण तथा साधनहरू व्यवस्थापन गर्ने पनि निर्णय भएको छ।
कारागारभित्र सुरक्षा व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि संघीय सरकारलाई अनुरोध गर्ने, कारागारको क्षमता भन्दा झण्डै पाँच गुणा बढी कैदीबन्दी रहेको हुँदा उत्पन्न सुरक्षा चुनौनी न्यूनीकरण गर्न कारगारको क्षमताअनुसार कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गर्ने पनि निर्णय भएको छ।
कारागारभित्र जाने खाद्यान्न, तरकारी तथा अन्य वस्तुको निगरानी र जाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारी मार्फत निर्देशन दिने लगायत निर्णय भएका छन्।





प्रतिकृया दिनुहोस्