कैलाली कारागार पुगे चार वटै सुरक्षा निकायका प्रमुख, कैदीबन्दीहरुले छिर्न दिएनन् घटनास्थल

धनगढी : कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएपछिको अवस्था बुझ्ना जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरु पुगे । तर घटनाको विवरण बुझ्न गएका सुरक्षा निकायका प्रमुखहरुलाई कैदीबन्दीहरुले घटनास्थल जानबाट रोक लगाएका छन् ।
जेलको पछिल्लो अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु पुगेका हुन् । उनीहरु कारागार प्रशासनसम्म पुगेको टोली घटनास्थल निरीक्षक नगरी फर्किएको स्रोतले बताएको छ ।
कारागारमा भने आफन्त र मिडियालाई रोक लगाइएको छ । बिहीबार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका थिए । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
कैलाली कारागारमा १५० कैदीबन्दी क्षमता भएको ७०० बन्दी छन् । केही दिन पहिले पनि विवाद भएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी गोगन हमालले समस्या समाधान गरेको बताएका थिए । तर त्यसको भोलि पल्टनै एक जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी झडप भएको हो ।





प्रतिकृया दिनुहोस्