April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलाली कारागारमा लगातार झडप : कैदीको हत्या, जेलभित्र के भएको थियो ?

धनगढी : कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।  जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी कुटपिटबाट गम्भीर घाइते धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरीको उपचारका क्रममा मृत्यु भएको भएको हो।

झडपमा परी ४७ जना घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ। मृतक चौधरीमाथि लागूऔषधको मुद्दा थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ ।

 झडप हिजो राति ११ बजे भएको हो। झडपको भित्री कारण खुलेको छैन । तर कैदीहरुलाई सरुवा गर्ने विषयलाई लिएर दुई समूहबीच दैनिक जसो झडप भइरहेको छ ।

एक सय ५० जना क्षमताको कैलाली कारागारमा सात सय बढी कैदीबन्दी रहेका छन् ।  घटनाले कारागारभित्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

कसरी भयो घटना ?
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार प्रारम्भिक अनुसन्धानमा कैदीबन्दीहरूका दुई समूहबिच मनमुटाव बढेर झडपको अवस्था सिर्जना भएको देखिन्छ।

‘कैदीहरूका ‘ए’ ब्लक र ‘बी’ब्लकका समूहबिच झगडा भएको भन्ने अपुष्ट जानकारी आएको छ। हामी घटनाको गहिरो अनुसन्धान गरिरहेका छौँ।’ राति भएको उक्त झडपमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।

घाइतेहरूको अवस्था कस्तो छ ?

झडपमा घाइते भएका ४७ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई आईसीयूमा राखेर उपचार गरिँदैछ भने अन्यको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

कारागारको सुरक्षा र प्रशासनको भूमिका

क्षमताभन्दा बढी कैदीबन्दी रहेको कैलाली कारागारमा सुरक्षा चुनौती पहिलेदेखि नै थियो। करिब साढे ६ सयभन्दा बढी कैदीबन्दी रहेको उक्त कारागारमा यति ठूलो घटना हुनुले सुरक्षा व्यवस्थाको कमजोरीलाई प्रष्ट पारेको छ।

प्रमुख प्रशासकीय अधिकृत जोशीले घटनालाई दुःखद भन्दै यस विषयमा गम्भीर छानबिन सुरु भइसकेको बताए। ‘यो घटना कसरी र के कारणले भयो भन्ने विषयमा हामीले अनुसन्धान टोली बनाएर काम अघि बढाएका छौँ,’ उनले भने, ‘दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइनेछ र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विशेष सुरक्षा योजना बनाइनेछ।’

यो घटनाले कारागारभित्र लागूऔषधको कारोबार र समूहगत गुन्डागर्दीजस्ता विकृति मौलाएको हुनसक्ने आशंकालाई थप बल पुर्‍याएको छ। बेला बेला यस्ता  घटना कारगारमा हुँदा सुरक्षा व्यवस्था सम्वन्धी गम्भीर प्रश्न उठेको छ। यो घटनाको बिस्तृत जानकारी अनुसन्धानपछि मात्रै सार्वजनिक हुने प्रशासनले जनाएको छ।