भारतको उत्तरकाशीमा ‘क्लाउड बर्स्ट’, धराली बजार तहसनहस : भीषण बाढीबाट ४ जनाको मृत्यु, ५० बेपत्ता

कञ्चनपुर : भारत उत्तराखण्डको उत्तरकाशीमा ‘क्लाउड बर्स्ट’ पछि आएको बाढीले ठूलो क्षति पुर्याएको छ । भीषण वर्षापछि खीरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस बनाएको छ ।
भारतीय समय अनुसार मंगलबार १ बजेर ३० मिनेटमा आएको बाढीले धराली बजारका धेरै घर गेग्रानमा पुरिएको र केही घरहरु बगेका छन् । बाढीमा परी अपराह्न ५ बजेसम्म ४ जनाको मृत्यु भएको डिएम प्रशान्त आर्यले जानकारी दिएको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन् । भने अन्य ५० जना बेपत्ता भएका छन् ।
उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ ।

उत्तरकाशीका पुलिस उपअधिक्षक जनक पवारका अनुसार धराली आसापासको क्षेत्रमा ३ ठाउँमा ‘क्लाउड बर्स्ट’ भएको थियो । मंगलबार दिउँसो ‘क्लाउड बर्स्ट’ हुँदा गंगोत्रीमार्ग समेत अवरुद्ध भएको छ ।
‘सबैभन्दा अगाडि धरालीमै क्लाउड बर्स्ट भएको थियो, त्यसपछि आसपास दुई अन्य ठाउँमा पनि क्लाउड बर्स्ट भएको छ,’ पवारले भने, ‘बाटो अवरुद्ध भएका कारण उद्धार टोली घटनास्थलसम्म जान सकेको छैन ।’

पवारका अनुसार उत्तराकाशीका डिएम प्रशान्त आर्यसहित सेना र प्रहरीको टोली खोज उद्धारका लागि गएपनि घटनास्थलसम्म पुग्न सकेको छैन ।
धराली बजारका धेरै घरहरु बाढीले बगाएका कारण ठूलो क्षति भएको अनुमान गरिएको छ । उनका अनुसार उक्त क्षेत्रमा दुई दिनदेखि नियमित रुपमा वर्षा भइरहेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले यस सम्बन्धमा वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा रहेको र परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।
हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको उत्तरकाशीको धराली गाउँमा आरीघोप्टे वर्षापछि खीर गढ नालीमा भीषण बाढी आएको हो । भीषण बाढीपछि गंगोत्री धामसँगको सबै सडक सम्पर्क विच्छेद भएको छ ।
एक प्रत्यक्षदर्शीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्, ‘होटलदेखि बजारसम्म सबै कुरा नष्ट भएको छ, मैले पहिले कहिल्यै यस्तो विपत्ति देखेको थिइनँ ।’
बाढीग्रस्त क्षेत्रमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र अन्य उद्धारका टोलीहरू परिचालन भइसकेका छन् । भारतीय सेनाले अहिलेसम्म कम्तीमा १५ जनाको उद्धार समेत गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्