February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५

खुटिया-दिपायल फास्ट ट्र्याक लगायतका योजनामा उचित वजेट नपरेपछि जोरायलका अध्यक्ष ओझाले पोखे आक्रोश, दिए चक्का जामसम्म गर्ने चेतावनी

धनगढी । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले खुटिया-दिपायल फास्ट ट्र्याक लगायत योजनामा उचित बजेट विनियोजन नगरेको भन्दै संघं र प्रदेश सरकारप्रति खेद प्रकट गरेका छन् । उनले यस विषयमा दबाबमूलक कदमसमेत चालिने चेतावनी दिए।

आज सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पत्रकार सम्मेलनको आयोजनागरी अध्यक्ष ओझाले खुटिया-दिपायल फास्ट ट्र्याक र बुडर-जोरायल-गड्सेरा सडक खण्डजस्ता महत्त्वपूर्ण योजनाका लागि बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

पत्रकार सम्मेलनमा उनले बजेट बढाउन दुबै सरकारलाई माग समेत गरे । ‘दुबै सडक डोटीवासीको जिवनस्तरसंग जोडिएका छन्’, उनले भने, तर, दुबै सडकका लागि न्यून बजेट विनियोजन गरिएको छ । जसका कारण निर्माणमै वर्षों लाग्ने देखिएको छ । प्रदेश र संघीय सरकारलाई बजेट बढाउन माग गर्दछु ।’ उनले यस विषयमा सरकार गम्भिर नबने दबाबमूलक कार्यक्रम सहित चक्का जाम सम्म गर्ने चेतावनीसमेत दिएका छन्।

ओझाका अनुसार प्रदेश सरकारले निर्माण गरिरहेको बुडर-जोरायल-गडसेरा सडकका लागि आगामी वर्षको बजेटमा दुई करोड रुपैयाँ विनियोजन गरेको छ । ४२ किलोमिटरको उक्त सडकमा अहिलेसम्म सात किलोमिटर मात्रै कालोपत्रे भएको ओझाले बताए ।

यस्तै, धनगढी-खुटिया-दीपायल-चैनपु-उरैभन्ज्याङ्ग सडक संघीय सरकारले छुट्टै योजना कार्यालय स्थापना गरेर निर्माण गरिएको छ । उक्त योजनाको धनगढी-दीपायल खण्डमा मात्रै अहिले काम भइरहेको छ ।

‘जोरायललाई योजना तर्जुमा र बजेट वितरणको क्रममा बेवास्ता गरिएको छ। सुदूरपश्चिमकै गौरवका योजनामध्ये पर्ने सडक योजनाहरूमा समेत बजेट नछुट्टाइनु दुखद कुरा हो।’ अध्यक्ष ओझाले भने ।

उनले जोरायल भित्र उत्पादन हुने विभिन्न वस्तु, कृषिजन्य उपज, जडीबुटीलगायत सामग्रीको बजार पहुँच अभाव र सडक पूर्वाधार कमजोर हुँदा स्थानीय उत्पादन उपयोग हुन नसकेको बताए । ‘सडक विस्तारको काम भएको भए यहाँको आर्थिक गतिविधि वृद्धि हुने थियो ।’

सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटमा खुटिया–दिपायल फास्ट ट्र्याक र बोर्डर-जोरायल–गड्सेरा सडक योजनाको नाम समेत नरहेको उनले भने- ‘यसले स्थानीय जनप्रतिनिधि र सर्वसाधारणमा राजनीति प्रति वितृष्णा जागेको छ ।’

योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार संघीय सरकारले चालु वर्षभन्दा तीन गुणा घटाएर आगामी वर्षका लागि बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ४३ करोड बजेट रहेकोमा आगामी वर्षका लागि १५ करोड मात्रै छुट्याइएको छ, उनले भने, हाम्रो दायित्व नै झण्डै ५० करोड बाँकी छ ।

९५ किलोमिटरको धनगढी- दीपायल सडकमा अहिलेसम्म साढे ३८ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । २१ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का भइसकेको छ ।