डोटीमा जीप दुर्घटना हुदाँ गर्भपती महिलासहित ३ जनाको मृत्यु, ५ घाइते

दिपायल। डोटीमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका – १ खिरधार धौलामाटी भन्ने ठाउँमा शुक्रबार दिउँसो जीप दुर्घटना भएको हो ।
आदर्श गाउँपालिकाबाट मेल्लेख तर्फ जाँदै गरेको सुपप्र ०१ ००१ ज १३९५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल भिरमा खसेको प्रहरी उपरीक्षक बिनोद शर्माले बताए ।
प्रहरीका अनुसार दुर्घटनामा सायल गाउँपालिका -४ सुण्ड निवासी ४१ वर्षीया हरु देवी विक, जीप चालक आदर्श गाउँपालिका – ७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका – ६ कटुवाल गाँउकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको हो । मृतक कटुवाल गर्भवती रहेको प्रहरीले जनाएको छ ।
बिक र जीप चालक कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने कटुवालको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।
दुर्घटनामा आदर्श गाउँपालिका ३ नुवाकोटकी १४ वर्षीया अनिता बिक, सोही ठाउँकी १६ वर्षीय स्यानु बिक, आदर्श गाउँपालिकाकै वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, सोही ठाउँका १४ वर्षीय दिपक विष्ट घाइते भएका छन् । त्यस्तै मृतक कटुवालकी ९ वर्षीया छोरी सविता कटुवाल पनि दुर्घटनामा घाइते भएकी छिन् ।
दुर्घटनाका घाइते भएका मध्ये तिन जनालाई डडेल्धुरा अस्पताल रिफर गरेको छ । भने दुई जनाको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको छ ।





प्रतिकृया दिनुहोस्