April 18, 2026, Saturday
२०८३ बैशाख ५

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ ।

स्कटल्याण्डको डन्डीमा खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो।

नेपालले नेदरल्याण्ड्ससँगको पहिलो खेलमा जित निकालेको थियो । हालसम्म शृंखलामा ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेल जित्दा आइतबारको खेलमा भने कीर्तिमानी जितबाट चुकेको थियो ।

यस शृंखलामा नेदरल्याण्ड्सले भने जित निकाल्न बाँकी नै छ । नेपाल र स्कटल्याण्डसँग १-१ खेल खेलेको नेदरल्याण्ड्स दुवै खेलमा पराजित भएको छ ।

नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।

हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ६ खेलमध्ये ३ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ ।

लिग २ को अंकतालिकामा २२ खेलबाट २६ अंक भएको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने नेपाल १५ खेलमा १० अंक जोडेर सातौं स्थानमा छ ।

नेपाली टोली

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी