April 18, 2026, Saturday
२०८३ बैशाख ५

भन्सार प्रमुखमाथि हातपात गर्ने नगर प्रहरीविरूद्ध प्रहरीमा उजुरी, उपमहानगरले सोध्यो स्पष्टीकरण

धनगढी । कैलाली भन्सार प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि हातपात गर्ने नगर प्रहरीविरूद्ध प्रहरीमा उजुरी परेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तिमिल्सिनामाथि दुर्व्यवहार र कुटपिट गर्ने नगर प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो ।

भन्सार कार्यालयले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीमा लिखित उजुरी दिँदै प्रमुख तिमिल्सिनामाथि शनिबार राति कुटपिट गर्ने नगर प्रहरीहरूको पहिचान गरेर कानुन बमोजिम कारबाही गर्न माग गरेको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)राजकुमार सिंहले सीसीटीभी फुटेजसहित कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै लिखित उजुरी प्राप्त भएको बताए । उनकाअनुसार उजुरीमा कसैको पनि नाम उल्लेख छैन । फुटेजमा देखिएका व्यक्तिको पहिचान गरेर कारबाही गरिदिन भनिएको छ ।

यता धनगढी उपमहानगरपालिकाले नगर प्रहरी प्रमुख (नगर प्रहरी निरीक्षक) लक्ष्मणसिंह धामीलाई स्पष्टीकरण सोधेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कार्यालय हाताभित्र प्रवेश गरी कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले नगर प्रहरी प्रमुख धामीलाई स्पष्टीकरण सोधेको बताएका छन्।

‘कार्यालय हाताभित्र प्रवेश गरी हातपात गरी कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल र अनलाइन पत्रपत्रिकामा तपाईसंग जोडिएर आएको हुँदा उक्त घटनामा तपाईंको संलग्नता देखिएकोले सो सम्बन्धमा के कसो भएको हो ? आफ्नो अधिकार क्षेत्रभन्दाबाहिर गई आफ्नो पदिय मर्यादाको उलंघन गरी निजलाई कुटपिट गर्नुपर्ने कारण के हो ? आफ्नो पदिय मर्यदाभन्दा बाहिर गई तपाईले गर्नु भएको उक्त घटनाका सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी सत्यतथ्य व्यहोराको स्पष्टीकरण यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्ट उचित कारणसहित पेश गर्न हुन जानकारी गराइन्छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ । 

समयमा स्पष्टीकरण प्राप्त हुन् नआएमा धनगढी उपमहानगरपालिकाको नगर प्रहरी कार्यविधीअनुसार कारबाही हुने बताइएको छ ।