April 18, 2026, Saturday
२०८३ बैशाख ५

बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिकाले गराइन् बाटो मै सुरक्षित प्रसूति

धनगढी । कैलालीको गोदावरीमा बेवारिसे गर्भवती महिलाको प्रहरीको सहयोगमा सुरक्षित प्रसूति गराइएको छ। गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिका देउवाको सहयोगमा सुरक्षित प्रसूति गराइएको हो।

इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान देउवाले ती महिलालाई सडकमा ब्याथा लागेको अवस्थामा देखेपछि मानवीयता देखाउँदै सहयोग गरेको बताएकी छन्।

प्रहरी जवान देउवाले भनिन्, ‘स्थानीय नजिक गएर सोधखोज नगरेका ती महिला भने सुत्केरी व्‍यथाले छट्पटाएकी रहिछिन् । कोही नजिक जान पनि नमान्ने, छुन पनि नमान्ने रहेछन् ।’

उनले ब्याथा लागेको अबस्थामा देखेपछि स्थानीय बासिन्दाहरुको सहयोगमा महिलालाई सुरक्षित स्थानमा राखेर प्रसूति गराइएको हो। त्यसपछि देउवाले आमा र नवजात शिशुलाई पद्मा अस्पताल, अत्तरियासम्म आफैं लिएर गएको बताएकी छन्।

आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको पद्मा अस्पतालले जनाएको छ।