June 19, 2025, Thursday
५ असार २०८२, बिहीबार

आईपीएल : हैदराबाद बन्यो प्लेअफ समीकरणबाट बाहिरिने तेस्रो टोली, आज मुम्बई र गुजरात भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ समीकरणबाट सनराइजर्स हैदराबाद बाहिरिएको छ । दिल्ली क्यापिटल्सविरुद्धको खेल वर्षाका कारण रद्द भएसँगै सनराइजर्स हैदराबाद आईपीएलको प्लेअफ समीकरणबाट बाहिरिने तेस्रो टोली बनेको हो ।

यसअघि प्रतियोगिताबाट चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स क्रमशः पहिलो र दोस्रो बन्दै प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिएका थिए ।

हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारका लागि तय खेलको दोस्रो इनिङ वर्षाका कारण सम्भव बन्न सकेन । त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३३ रनको योगफल तयार पारेको थियो ।

हैदराबादले जितको लागि १ सय ३४ रनको अत्यन्त सहज चुनौती पाएको थियो। वर्षाको कारण हैदराबादले‌ इनिङ्स सुरुवात नै गर्न पाएन । दुवैले एक-एक अंक बाँडेका छन्।

पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटियो। अत्यन्त खराब सुरुवात गरेको दिल्लीले पहिलो पावर प्लेको समाप्तिमा २६ रन मात्र जोड्दा ४ विकेट गुमाइसकेको थियो।

दिल्लीका ट्रिस्टन स्टब्सले अविजित ४१ रन बनाएका थिए । आशुतोश शर्माले ४१, विपराज निगमले १८ र केएल राहुलले १० रन बनाए ।

हैदराबादका कप्तान प्याट कमिन्सले तीन तथा जयदेव उन्नदकट, हर्षल पटेल र इशान मालिंगाले समान एक विकेट लिए ।

यो नतिजासँगै दिल्ली ११ खेलबाट १३ अंकका साथ पाँचौं स्थानमा छ । दिल्लीको भने प्ले अफ सम्भावना जीवितै छ । हैदराबाद समान खेलबाट सात अंकसहित आठौं स्थानमा रहेको छ ।

आज मुम्बई र गुजरात भिड्दै

आईपीएल क्रिकेटको १८औं संस्करणमा आज दुई बलिया टोली मुम्बई इन्डियन्स र गुजरात टाइटन्स आपस‌मा भिड्दैछन् । खेल मुम्बईको वानखेड स्टेडियममा नेपाली समय अनुसार, राति १९स्४५ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा खेल्न लागिएको यो ५६औं खेल हो। गुजरातले आफ्नो ११औं र मुम्बईले आफ्नो १२औं खेल खेल्न लागेका हुन् । यी दुवै टोली जारी संस्करणको प्ले अफ चरणमा स्थान सुरक्षित गर्ने अभियानमा छन् ।

आईपीएलको १८औं संस्करणमा यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि खेलिएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३६ रनले हराएको थियो । उक्त खेल गुजरातको घरेलु मैदानमा खेलिएको थियो।

त्यसैले मुम्बईका लागि यो खेल गुजरातसँग अघिल्लो खेलमा भोगेको हारको बदला लिने गतिलो अवसर पनि हो । मंगलबारको खेलमा विजयी हुने टोली अंक तालिकाको पहिलो स्थानमा उक्लनेछ । हाल तालिकाको पहिलो र दोस्रो स्थानमा आसीन टोलीभन्दा मुम्बई र गुजरातको नेट रन रेट राम्रो छ ।