June 19, 2025, Thursday
५ असार २०८२, बिहीबार

भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह अवलोकन र भेटघाटमा ब्यस्त

धनगढी । भारत भ्रमणमा रहेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीवार दिल्लीमा छुट्टा छुट्टै भेटघाट तथा अवलोकन भ्रमण गरेका छन्।

मुख्यमन्त्री शाहले नयाँदिल्ली स्थित प्रधानमन्त्री संग्राहलय, नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनी, जलविद्युत विकास संगठन एनएचपीसी लिमिटेड र कृषि अनुसन्धान केन्द्रको अवलोकन भ्रमण गरेका हुन ।

मुख्यमन्त्री शहाको सचिवालयले दिएको जानकारी अनुसार विहिबार नै मुख्यमन्त्री शाह भारतका विदेश राज्यमन्त्री किर्ती बर्धन सिंहको दिवा भोजमा सरिक भएका छन् ।

साथै नेसनल स्किल डेभलपमेन्ट कर्पोरेसन कम्पनीसँगको छलफलमा प्रविधिमैत्रि सीप विकास क्षमताका वारेमा छलफल भएको छ। सूचना प्रविधिको यूगमा डिजिटलमैत्रि प्रविधिको विकास गरी जनतालाई आत्मनिर्भर बनाउँदा राष्ट्रलाई नै टेवा पुग्ने विश्वास लिईएको छ ।

कृषि अनुसन्धान केन्द्रसँगको भेटमा नेपालमा आधुनिक कृषि क्षेत्रको विकासका सन्र्दभमा कुराकानी भएको थियो । कुराकानीको क्रममा मुख्यमन्त्री शाहले नेपालमा आधुनिक कृषि क्षेत्रको विकासका लागि भारत सरकारसँग आग्रह गर्नु भएको थियो ।

त्यसैगरी एनएचपीसीका प्रतिनिधिमण्डलसँगको भेटमा उर्जा क्षेत्रका विषयमा छलफल भएको थियो । छलफलमा पश्चिम सेती जलविद्युत आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको र आर्थिक अभावले अगाडी बढ्न नसकेको अवस्था भारत सरकारले प्राविधिक लगायतको सहयोगले अन्तिम रुपमा दिन मुख्यमन्त्री शाहले आग्रह गरेका छन् ।

साथै पञ्चेश्वर जलविद्युत आयोजना, वेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णालीको सम्भावना अध्ययन प्रतिवेदनका विषयमा दुबैपक्षबीच छलफल भएको थियो ।

सोही अवसरमा मुख्यमन्त्री शाहले भारतका विदेश राज्यमन्त्री किर्ती बर्धन सिंहबीच टनकपुर–ब्रह्मदेब व्यारेजमा सहज आवागमनका विषयमा समेत कुनाकानी भएको थियो ।