April 18, 2026, Saturday
२०८३ बैशाख ५

आइपिएल : राजस्थानमाथि एक सय रनको जित निकाल्दै मुम्बई शीर्ष स्थानमा

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

गएराति सवाइ मानसिंह स्टेडियम जयपुरमा राजस्थानलाई एक सय रनले पराजित गर्दै मुम्बई आइपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो।

२१८ रनको लक्ष्य दिएर बलिङ गरेको मुम्बईले १६.१ ओभरमा राजस्थानलाई अल आउट गर्‍यो। राजस्थानले ११७ रनमात्रै जोडेको थियो। राजस्थानका लागि बलर जोफ्रा आर्चरले ३० रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

राजस्थानले पहिलो ओभरको चौथो बलमा नै वैभव सूर्यवंशीको साथ गुमाएको थियो । अर्को ओभरमा यशस्वी जैसवाल पनि १३ रनमा आउट भए । चौथो ओभरमा नितिश रानाको साथ गुमाएको राजस्थानले पाँचौ ओभरमा रियान पराग र शिम्रण हेटमायर गुमाउँदा ४७-५ को दयनीय स्थितिमा पुग्यो ।

तल्लोक्रममा आर्चरले २७ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सम्मानजनक योगफलसम्म पुर्याए । मुम्बईका लागि करण शर्मा र टेन्ट बोल्टले ३-३ तथा जस्प्रित बुमराहले २ र हार्दिक पान्ड्या र दीपक चाहरले १-१ विकेट लिए ।

त्यसअघि राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो ।

मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय साझेदारी गरे । पहिलो विकेटको लागि १ सय १६ रनको साझेदारी गर्ने क्रममा रायन र रोहित दुवैले अर्धशतक बनाए ।

राजस्थानले पहिलो विकेट झार्न ११ ओभर ५ बल नै कुर्नुपर्यो । ३८ बल खेल्दै ७ चौका र ३ छक्का सहित रायन ६१ रनमा आउट भए । उनको विकेट थिक्सनाले लिए। ३६ बल खेल्दै ९ चौकाका साथ रोहितले ५३ रन जोडे। उनी परागको बलमा क्याच आउट भए ।

यसपछि सूर्य कुमार यादव र कप्तान हार्दिक पाण्ड्याले तेस्रो विकेटको लागि नटआउट ९४ रनको साझेदारी गरे । सूर्य कुमार र हार्दिक दुवैले समान २३ बलबाट समान ४८ रन बनाए । हार्दिकले ६ चौका र १ छक्का प्रहार गरे ।

मुम्बई ११ खेलमा १४ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । राजस्थानको ११ खेलमा ६ अंक हुँदा प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।