April 25, 2025, Friday
१२ बैशाख २०८२, शुक्रबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाएको सर्वदलीय बैठक माओवादीद्वारा बहिस्कार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बोलाएको सर्वदलीय बैठक नेकपा माओवादीले बहिस्कार गरको छ । भारतीय विदेश मन्त्रालयको व्यवस्थापनमा मुख्यमन्त्रीसहितको टोली भारत जाने तयारीका लागी बोलाएको सर्वदलीय बैठकलाई माओवादीले बहिस्कार गरको हो ।

सुदूरपश्चिम प्रदेश सरकार अहिले भारत भ्रमणको तयारीमा जुटेको छ । भारतीय विदेश मन्त्रालयको व्यवस्थापनमा मुख्यमन्त्रीसहितको टोली भारत जाने तयारीकाबीच मुख्यमन्त्री शाहले बिहीबार सर्वदलीय बैठक बोलाएका थिए ।

बिहान ११ बजे सर्वदलीय बैठकका आउन भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी गराएका थिए । तर, उक्त बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बहिस्कार ग¥यो ।

‘सरकारले प्रदेश सभा बैठक अन्त्य गरेर प्रश्नहरूबाट भागिरहेको छ । यस्तो अवस्थामा मुख्यमन्त्रीले बोलाएको बैठकको कुनै औचित्य छैन’ माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले भने, ‘आफ्नो जिम्मेवारीबाट विमुख भएर भारत भ्रमण गर्न जाने विषयमा हाम्रो असहमति हो । त्यसैले बैठकमा गएनौँ ।’

धामीले आफू संसदीय दलको नेता हुँदा पनि मुख्यमन्त्रीले आधिकारिक खबर नगरेकोमा पनि गुनासो पोखेका थिए । माओवादी केन्द्रसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पनि बैठकमा नगएको उनले बताए ।

छलफलमा कांग्रेसको तर्फबाट मुख्यमन्त्री शाहसहित प्रमुख सचेतक विक्रम धामी, नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुख सचेतक इन्दिरा गिरी, राप्रपाका खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. तारा जोशी मात्रै सहभागी थिए ।

मुख्यमन्त्री शाहको नेतृत्वमा आगामी १६ गतेदेखि २२ गतेसम्म १० सदस्यीय टोली भारत जान लागेको छ । भ्रमण टोलीमा सरकारको तर्फबाट मुख्यमन्त्री शाहसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा छन् ।

कांग्रेस र एमालेका मुख्यमन्त्री र मन्त्री परेको टोलीमा माओवादी केन्द्रबाट झपट साउद, नागरिक उन्मुक्ति पार्टीबाट घनश्याम चौधरी र नेकपा एकीकृत समाजवादीबाट नरेश बहादुर शाही छन् ।

मुख्यमन्त्रीसँग उनका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र उनका स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा छन् । प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर विष्ट, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव पनि भ्रमण टोलीमा छन् ।