April 25, 2025, Friday
१२ बैशाख २०८२, शुक्रबार

कैलालीमा विदेशी नागरिक मृत भेटिए

धनगढी । कैलालीमा विदेशी नागरिक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इंग्ल्यान्डका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका ४ नोमाबोझीमा मृत भेटिएका हुन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले गत कात्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बसेका गोर बिहीबार राति साढे ९ बजेको समयमा सुतेको कोठामै मृत भेटिएको बताएका छन् ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराका अनुसार उनी सुतेको कोठाको भित्रबाट चुक्कुल लगाइएको थियो । सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा गोर सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

प्रहरीका अनुसार मृतक गोर र नेपाली मूलकी भारतीय महिला बमका बुवा साथी हुन् । घुम्नका लागि टुरिस्ट भिसामा नेपाल आएका उनीहरू कात्तिकदेखि बर्दगोरिया-४ मा छुट्टाछुट्टै घरमा डेरा गरी बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पताल पठाइने र त्यसपछि शव सम्बन्धित देशमा पठाउने प्रक्रिया अघि बढाइने प्रहरी प्रवक्ता बोहराले जनाएका छन् ।