March 10, 2025, Monday
२६ फाल्गुन २०८१, सोमबार

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा, अस्ट्रेलिया ४ विकेटले पराजित

काठमाडौं । दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा मंगलबार भएको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान सुरक्षित गरेको हो।

दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल ८ रनमा र कप्तान रोहित शर्मा २८ रनना आउट भए। पहिलो पावर प्लेमा भारतले २ विकेटको नोक्सानीमा ५५ रन बनाएको थियो।

सुरुवात दमदार गर्न नसकेको भारतको लागि विराट कोहली र श्रेयस अयरले तेस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे। श्रेयस अर्धशतकबाट ५ रनले चुके। ४५ रन जोडेका उनी एडम जाम्पाद्वारा बोल्ड आउट भए।

विराटले भने अर्धशतक बनाए र क्रिजमा टिकिरहे। विराटसँग मिलेर चौथो विकेटको लागि ४४ रनको साझेदारी गरेपछि अक्षर पटेल २७ रनना आउट भए।

त्यसपछि क्रिजमा जमेका विराटलाई जम्पाले पबिलियनको बाटो देखाइदिए। ९८ बलको सामना गर्दै ५ चौका प्रहार गर्दै ८४ रनको पारी खेले। उनी आउट हुँदा भारतले ४२.२ ओभरमा २ सय २५ रन बनाएको थियो।

त्यसपछि हार्दिक पाण्ड्या र के एल राहुलले भारतलाई जिततर्फ डोर्याए। २४ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै हार्दिकले २८ रनको महत्वपुर्ण योगदान दिए। केएल राहुलले अविजित ४२ रनको उत्कृष्ट पारी खेले। उनले ३४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे।

बलिङमा एडम जाम्पा र नथान इलिसले समान २ विकेट लिए। यस्तै बेन ड्वारसेस र कुपर कनोलीले समान १ विकेट झारे।

त्यसअघि टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९.३ ओभर सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌।

अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रूपमा ट्राभिस हेड ३९ रनमा वरूण चक्रवर्तीको बलमा शुभमन गीलको बलमा क्याच आउट भए।

त्यसपछि कप्तान स्टेभन स्मिथ र मार्नस लाबुसेनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे। मार्नस २९ रनमा आउट भए।

लगत्तै जोस इङ्लिस ११ रनमा आउट भए। त्यसपछि स्मिथले फेरि एलेक्स क्यारीसँग ५४ रनको साझेदारी गरे। उनी ७३ रन जोडेर मोहम्मद सामीको बलमा बोल्ड आउट भए।

त्यसपछि अर्धशतक बनाएका एलेक्स ६१ रन जोड्दै रन आउट भए‌। उनले ५७ बलको सामाना गर्दै ८ चौका र १ छक्का सहित ६१ रनको पारी खेले। बलिङमा मोहम्मद सामीले १० ओभरमा ४८ रन दिएर ३ विकेट झारे। वरूण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ विकेट लिए।

भोलि हुने दोस्रो सेमिफाइनल न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। भारतले यी दुईको विजेतासँग उपाधिको लागि खेल्नेछ।