March 10, 2025, Monday
२६ फाल्गुन २०८१, सोमबार

धनगढीको सोल्टी होटलमा छापा, साहुनीसहित नौ जना पक्राउ

धनगढी । धनगढीको सोल्टी होटलमा प्रहरीले छापा हानेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको उक्त होटलमा प्रहरीले छापा मारेर झन्डै दुई लाख नगदसहित ९ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त होटलमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयको टोलीले बिहीबार राति साढे ११ बजे छापा हानेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले सो क्रममा होटल सञ्चालक डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थायी घर भएकी २८ वर्षीया पुजा खड्कासहितका जुवातास खेलिरहेका नौ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्।

उनकाअनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–३ की २५ वर्षीया हिमा धामी, पुर्चौडी नगरपालिका–८ बस्ने ५५ वर्षीय कालुसिंह धामी, पाटन नगरपालिका–४ बस्ने ४१ वर्षीय सुरेन्द्र ऐर, डडेल्धुराको आलीताल गाउँपालिका–७ का ४० वर्षीय गणेश थापा, अजयमेरू गाउँपालिका–३ बस्ने ३७ वर्षीय ईश्वर पाण्डे, बझाङको थलारा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर भण्डारी, दुर्गाथली गाउँपालिका–८ का ४३ वर्षीय सुरज दौल्याल र कैलालीको गौरीगंगा–९ बस्ने ४१ वर्षीय लक्ष्मण खड्का रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले नगद एक लाख ९७ हजार ६७२ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ।