कैलालीकाे बर्दगाेरियामा बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले दिए जानकारी अनुसार बर्दगोरिया गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का दुई जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना २६ गते माघको हो । बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र २ नम्बर वडाका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।
‘२७ गते ४ बजे आफ्नो बहिनीमाथि सामूहिक बलात्कार भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन्,’ डीएसपी बोहराले भने, ‘गोपाल बिकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर बिकको पसलमा पुगेकी थिइन् । सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगेर जबरजस्तीकरणी गरेको जानकारी आएको छ ।’
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।

प्रतिकृया दिनुहोस्