March 10, 2025, Monday
२६ फाल्गुन २०८१, सोमबार

सबैभन्दा धेरै हलमा सय दिन मनाउने चलचित्र बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट प्रदर्शनको सय दिनमा प्रवेश गरेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्र आजबाट प्रदर्शनको एक सय दिनमा प्रवेश गरेको हो । 

‘पूर्ण बहादुरको सारङ्गी’ सबैभन्दा धेरै हलमा एक सय दिन प्रदर्शन हुने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले सबैभन्दा धेरै हलमा एक सय दिन प्रदर्शन भएर ‘पूर्ण बहादुरको सारङ्गी’ले नयाँ रेकर्ड बनाएको दाबी गरे । 

काठमाडौंको सामाखुसी, रञ्जना, राइजिङ महल, बनेपा, बुटवल र धरानको हलमा एक सय दिन मनाएको हो ।  

यसैबीच, प्रदर्शनको सय दिन पुगेको अवसरमा निर्माणपक्षले  दर्शकलाई एक सय रुपैयाँमा टिकट उपलब्ध गराएको निर्माता पौडेलले जानकारी दिए । 

‘पूर्ण बहादुरको सारङ्गी’ चलचित्र ‘जारी’पछि सय दिन मनाउने पहिलो चलचित्र हो । दुई वर्षअगाडि ‘जारी’ र ‘दिमाग खराब’ले पनि सय दिन मनाएका थिए । ‘जारी’ले पाँच वर्षपछि सय दिन प्रदर्शन हुने चलचित्रको रेकर्ड बनाएको थियो । 

‘पूर्ण बहादुरको सारङ्गी’को नाममा रह्यो । यो चलचित्र नेपालमा हालसम्म सबैभन्दा धेरै कमाउने चलचित्र बनिसकेको छ । 

एक करोड ३० लाखमा बनेको चलचित्रले नेपालभित्र र बाहिर गरेर पौने एक अर्बभन्दा माथि ग्रसकलेक्सन गरेको छ । 

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । 

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

बाह्रखरीबाट