May 9, 2025, Friday
२६ बैशाख २०८२, शुक्रबार

गायिका एलिना चौहानले पतिविरुद्ध दायर गरिन् सम्बन्ध विच्छेदको मुद्दा

काठमाडौँ । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गराएकी हुन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै फिराद पत्र दायर गरेको जानकारी दिएका हुन ।

गत वैशाखमा विवाह गरेर उनी पति विष्णुसँग अस्ट्रेलियामा बस्न थालेकी थिइन् । तर अस्ट्रेलियामा रहँदा कार्यक्रममा भाग लिन जाँदा विभिन्न शंका गरेर पतिले मानसिक दबाब दिएको उनले अदालतमा दायर गरेको फिराद पत्रमा उल्लेख छ ।

एलिनाले यसरी आफ्नो चरित्रमाथि शंका उपशंका गरेर सम्बन्धअगाडि नबढ्ने भन्दै सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । उनले अंश तथा माना चामल नलिने गरी सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।

फिरादपत्रमा उल्लेख गरेकी छन्, ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भई आ-आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु ।’

फिराद पत्रमा एलिनाले के लेखेकी छन् ?

‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काहीं केही अबेर सम्म पनि बस्नुपर्ने हुँदा बिपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो, त्यस्तैमा तीन महिनाको बसाई पछि म नेपाल फर्किएँ । नेपाल फर्किए पछि पनि म कलाकारिताको क्षेत्रमा हुने बिभिन्न कार्यक्रमहरुमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको बैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडी बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पति बिच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यबिधी संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ-आफ्नो जिवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानीत अदालत समक्ष उपस्थित भएकी छु । विपक्षीलाई यस सम्मानित अदालतमा झिकाई जे जो प्रमाण बुझनु पर्छ बुझी हामी बिच कायम रहेको पति पत्नीको नाता सम्बन्ध विच्छेद गराई पाऊँ ।’