April 18, 2026, Saturday
२०८३ बैशाख ५

‘अमेरिकी जनताले घरेलु मुद्दालाई रोजे’

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितसँगै अमेरिकाले आन्तरिक मामिलालाई प्राथमिकतामा राख्दै बहुपक्षीयतालाई कमजोर बनाउने नीति अंगीकार गर्ने भूराजनीतिक विज्ञहरूले बताएका छन् ।

सन् २०१६ को पहिलो कार्यकालमा जस्तै ट्रम्पले बाह्य मामिलाको तुलनामा आन्तरिक मामिलालाई प्राथमिकतामा राख्ने विज्ञहरूले बताएका हुन् ।

मंगलबार भएको चुनावमा जितसँगै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेका छन् । उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । अमेरिकाका लागि नेपालका पूर्वराजदूत अर्जुन कार्की चुनावी नतिजाले पश्चिम एसियाको युद्ध, रुस–युक्रेन युद्ध, चीन मामिला तथा बहुपक्षीयतामा पनि जलवायु, अन्तर्राष्ट्रिय व्यापार संगठन र अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनमा असर पर्ने बताउँछन् ।

‘ट्रम्प प्रशासनले जलवायु परिवर्तनको राजनीतिक, अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरूलाई असर पार्ने विषयहरूमा अहिलेको भन्दा फरक नीति लिन सक्छ । साथै, महिलाको गर्भपतन अधिकारबारे पनि ट्रम्पको फरक नीति छ । उनीहरूले अब सहयोग गर्दा पनि आफ्ना ती विषयलाई समेट्छन्,’ कार्कीले भने, ‘ट्रम्पको पुनरागमनले नेपालजस्तो देशलाई असर गर्दैन । तर चीन, रुस–युक्रेन, इजरायल, प्यालेस्टाइन, पश्चिम एसिया र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा असर पर्नेछ ।’

भूराजनीतिक जानकार चन्द्रदेव भट्ट ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानलाई अघि बढाउने बताए । बाइडेन प्रशासनले पश्चिम एसिया र युक्रेन–रुसको युद्धलाई कसरी अन्त्य गर्ने भन्ने प्रस्ट पार्न नसक्नु पनि ह्यारिसको हारको कारण बनेको उनको भनाइ छ । साथै यस पटकको चुनावमा प्रविधिले पनि महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

‘यो अमेरिकी निर्वाचन मात्र होइन, यो ग्लोबल इलेक्सन हो । यस पटकको अमेरिकी इलेक्सनको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको इलन मस्क हुन् । एउटा व्यक्तिले प्रविधिको प्रयोग गरेरै कसरी निर्वाचनलाई प्रभाव पार्न सक्छ भन्ने यो चुनावमा देखिएको छ,’ भट्टले भने, ‘जति बेला इलन मस्कले ट्वीटर किनेका थिए, त्यो चुनावका लागि प्रयोग गर्न थियो, अर्कोतर्फ डेमोक्र्याट व्यावसायिकस्तरमा मात्र सीमित भए ।’

पूर्वराजदूत तथा प्राध्यापक लोकराज बराल भने ट्रम्पको जित अमेरिकाको लोकतन्त्रका लागि सुखद नभएको बताउँछन् । ‘ट्रम्पले आप्रवासन रोक्छु, ट्याक्स हटाइदिन्छु भनेका छन् । युद्ध रोकिदिन्छु भनेका छन् । जनताले यस्तो कुरा मन पराउँदा रहेछन्,’ उनले भने । बरालले अमेरिकी जनताले ‘अति दक्षिणपन्थी’ लाई मन पराएको बताए ।

अर्का पूर्वराजदूत जयराज आचार्य अमेरिकी निर्वाचनको नतिजालाई विश्वभर चलिरहेको अति दक्षिणपन्थीको लहरको निरन्तरता ठान्छन् । सँगै अमेरिकी समाजमा व्याप्त पुरुषप्रधान सोचले पनि ह्यारिसलाई रोकेको उनको भनाइ छ । ‘ह्यारिस हार्नुको कारण अमेरिकी अर्थतन्त्रमा देखिएको समस्या पनि हो । अहिले पनि अमेरिकी समाज महिलालाई राष्ट्रपति बनाउने मानसिकतामा छैन । उनीभन्दा बढी हिलारी योग्य थिइन् तर राष्ट्रपति भइनन् । तर अहिले ट्रम्पले पपुलर र इलेक्टोरल भोटमा पनि जिते । त्यस बेला हिलारीले पपुलर भोट ल्याएकी थिइन्,’ उनले थपे ।

भूराजनीतिक मामिला जानकार तथा प्राध्यापक मीना वैद्य मल्ल अमेरिकी चुनावको नतिजाले महिला नेतृत्वमा पुग्न अझै कठिन रहेको सन्देश दिएको बताइन् । ‘आगामी दिनमा थप मिहिनेत गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भनिन्, ‘अर्कोतर्फ हेर्दा महिलाहरू यसरी महत्त्वपूर्ण उम्मेदवारका रूपमा आउनु पनि उपलब्धि हो । पहिला हिलारी र अहिले ह्यारिस उठ्नुले पनि हामीले सन्तोष लिने ठाउँ छ ।’

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकारका रूपमा काम गरिसकेका भूराजनीतिक मामिला विज्ञ अरुणकुमार सुवेदी अमेरिकामा बाइडेन प्रशासनको पालामा जसरी विश्वभर अमेरिकाको प्रतिपक्षहरूको दबाब बढ्यो र युद्धहरू जसरी सुरु भए, त्यसमा अमेरिकी जनतालाई मन नपरेका कारण यस्तो नतिजा आएको मान्छन् । सुवेदीले थपे, ‘साथै, कमजोर अर्थतन्त्रको पनि असर भयो ।’

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकारका रूपमा काम गरिसकेका रूपक सापकोटा ट्रम्प बलियो रूपमा राष्ट्रपतिको जिम्मेवारीमा दोस्रो पटक आएको मान्छन् । ‘ट्रम्पले पुरानो वैभव फर्काउन लाग्छु भनेका छन् । अमेरिकाको घरेलु नीति र अर्थतन्त्रमा ध्यान दिने भन्ने देखिन्छ । अमेरिकाले विश्वका सबै विषयमा जिम्मा लिनु पर्दैन भन्ने गरेका छन् । ट्रम्पले अहिले भइरहेका युद्धहरू रोक्न पहल गर्छु भनेका छन्,’ उनले भने ।

सापकोटाले अहिले जसरी बहुध्रुवीय विश्वको उदयलाई ट्रम्पको नीतिले सहयोग पुर्‍याउन सक्ने प्रस्ट पारे । उनले थपे, ‘अहिले गैरपश्चिमा र रुससँगको सम्बन्धमा बाइडेन प्रशासनको नीतिभन्दा फेरबदल आउन सक्छ । विश्वव्यापी उपस्थिति संकुचन हुन सक्नेछ । र, प्राथमिकता बदलिएसँगै दक्षिण एसियामा पनि फरक पर्न सक्छ । नेपालको सन्दर्भमा त्यस्तो नहोला तर चीनसहित दक्षिण एसियाको क्षेत्रमा ट्रम्पकै पालामा अघि सारिएको इन्डो–प्यासिफिक रणनीतिलाई कसरी अघि बढाउलान्, त्यो भने निकै महत्त्वपूर्ण हुनेछ ।’ कान्तिपुरबाट