April 19, 2026, Sunday
२०८३ बैशाख ६

विद्युत प्राधिकरणले फेरी काट्यो ४३ उद्योगको बिजुलीको लाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ। विद्युत महसुल वापतको बक्यौता रकम नबुझाएको भन्दै विद्युत प्राधिकरणले ४३ उद्योगको विद्युत् लाइन काटिदिएको हो।

डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको हो।

विद्युत प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको विद्युत लाइन काटेको छ। त्यस्तै भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक उद्योगलगायत कारखानाको पनि विद्युत काटिएको छ।

गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो।

उनीहरूलाई कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो। प्राधिकरणका अनुसार बिहीबार मात्रै पाँच उद्योगले बक्यौता वापतको महसुल बुझाएका थिए।