April 18, 2026, Saturday
२०८३ बैशाख ५

सर्पले डसेर डोटी र कैलालीमा तिन जनाको मृत्यु

डोटी । सर्पले डसेर डोटी र कैलालीमा तिन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार डोटीमा एक महिला र कैलालीमा दुई बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार सर्पको डसाईबाट आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको मृत्यु भएको हो ।

सर्पको डसाईबाट घाइते भएकी खड्काको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा शनिवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो खेतवारीमा काम गर्ने बेला सर्पले खड्काको खुट्टामा डसको थियो ।

त्यस्तै शनिवार कैलालीको गौरीगंगा नगरपालिका–७ मा सर्पले डसेर एकै घरमा दिदीबहिनीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानसिंह घर्तीमगरकी ७ वर्षीया छोरी नीता घर्तीमगर र ४ वर्षीया काजललाई शुक्रबार राति घरमै सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो ।

सर्पले डसेपछि उनीहरुलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा शनिबार विहान साढे तीन बजे दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए ।

सर्पले ती बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि डसेको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।