April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैछ । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले बैठक आह्वान गरेका थिए ।

प्रदेश प्रमुख मियाँको आह्वानअनुसार प्रदेश सभाको विशेष अधिवेशन मंगलबार दिउँसो २ बजे बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको हो । सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको जानकारी दिएका छन् ।

फेरिएको राजनीतिक समीकरण अनुसार सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

राजनीतिक दलहरूको दाउपेचका कारण सुदूरपश्चिम सरकार साउन १ देखि बजेट शून्यतामा छ । बजेटसम्बन्धी कानुन ल्याउन नसकेकाले प्रदेश सरकारले न राजस्व संकलन गर्न पाएको छ न खर्च नै । सरकारले दैनिक ४० लाख हाराहारी राजस्व गुमाइरहेको छ ।

 कांग्रेस र एमालेका नेताहरू भने अल्पमतमा परिसकेका र विश्वासको मत पनि पाउने सम्भावना नभएका मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा दिनुपर्ने बताइरहेका छन् ।