April 18, 2026, Saturday
२०८३ बैशाख ५

एक साता पनि टिकेन नाउपाको निर्णय, फेरि फेरिए दलका नेता

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को निर्णय एक सातामै फेरिएको छ । यही असार २९ गते माननीय घनश्याम चौधरीलाई हटाउँदै सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खुसीराम चौधरीलाई चयन गरिएको नाउपाले फेरि नेता फेरिएको हो।

दलको नेतामा खुसीराम चौधरीलाई चयन गरिएको निर्णयको एक साता नबित्दै पुनस् बहुमतले घनश्यामलाई दलको नेता चयन गरिएको छ । साउन २ गतेको बैठकले घनश्याम चौधरीलाई दलको नेता, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतक र इन्दिरा गिरीलाई सचेतक चयन गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई दलको नेता बनाउने निर्णयमा घनश्याम चौधरी, लक्ष्मण किशोर चौधरीलाई रामेश्वर चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छन्।

प्रदेशसभा सदस्य कैलाश चौधरी, खुसीराम चौधरी र टीका थापाले उक्त निर्णयमा हस्ताक्षर गरेका छैन। असार २९ गते लक्ष्मण किशोर चौधरीले हस्ताक्षर गरेर खुसीराम चौधारीलाई दलको नेता बनाएका थिए भने लक्ष्मण किशोरले नै साउन २ गते घनश्याम चौधरीले दलको नेता बनाउने निर्णयमा पनि हस्ताक्षर गरेका छन्।

अन्य तीन/तीन जना अघिल्लो पटक बनाउने र नबाउनेमा विभाजित भएका थिए । ७ जना प्रदेश सभा सदस्यमध्ये बैठकमा घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, इन्दिरा गिरी र रामेश्वर चौधरी सहभागी थिए ।

खुसीराम डगौरा थारुलाई दलको नेता चयन गर्ने निर्णयमा सहभागी भएका लक्ष्मणकिशोर चौधरीले पार्टीका संरक्षक रेशम र अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुलाई प्रयोग मात्र गरेकाले स्वतन्त्र निर्णय लिएको दाबी गरेका थिए । तर उक्त निर्णय गरेको हप्ता दिन नबित्दै चौधरीले कित्ता फेरेपछि दलको नेता परिवर्तन पुनः सम्भव भएको हो ।

चौधरीले पार्टी अध्यक्ष र संरक्षकले आफूलाई दलको नेतादेखि मन्त्री बनाउनेसम्मका आश्वासन दिएको तर त्यो परिस्थिति कहिल्यै नबनेको बताउँदै यो निर्णय अन्तिम पटकका लागि भएको दाबी गरे ।

‘उहाँहरू (अध्यक्ष र संरक्षक)ले मलाई दल नेता, मन्त्रीको आश्वासन दिएर खेलाइरहनुभएको थियो । यो पटक फेरि घनश्यामजीलाई दल नेता बनाउने निर्णयमा पुगेको हो,’ चौधरीले भने, ‘यो नै अन्तिम पटक लिएको निर्णय हो । पार्टीमा यस्तै भयो भने पदबाट राजीनामा दिनुको विकल्प रहँदैन ।’

चौधरीले आफू ६ जना प्रदेश सभा सदस्य नै एकताबद्ध हुनुपर्ने पक्षमा भएको समेत दाबी गरे । नागरिक उन्मुक्ति पार्टीले डेढ वर्षको अवधिमा दलको नेता परिवर्तन गरेको यो चौथो पटक हो ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको गुटबन्दीले यस्तो अवस्था सिर्जना भएको नेताहरू बताउँदै आएका छन् ।