सुदूरपश्चिममा प्रदेशसभा अधिवेशन अन्त्य, अध्यादेश मार्फत बजेट ल्याउन बाटो खुला

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन प्रदेश प्रमुख नजिर मियाँले अन्त्य गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख मियाँले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी जारी बजेट अधिवेशन अन्त्य गरेका हुन् ।
यससँगै बेखर्ची भएको सुदूरपश्चिम प्रदेश सरकारलाई बजेटबाट अध्यादेश ल्याउन बाटो खुलेको छ । प्रदेश प्रमुखले बजेट अधिवेशन अन्त्य गरेसँगै दीर्घबहादुर सोडारी नेतृत्वको सरकारलाई अध्यायदेशमार्फत बजेट ल्याउने बाटो खुलेको हो ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले सरकारको सिफारिसअनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा २ अनुसार चालु अधिवेशन अन्त्य गरेको पत्र प्राप्त भएको जानकारी दिएका हुन ।
प्रदेशको मन्त्रिपरिषद् बैठकले २९ असारमा प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । उक्त निर्णय कार्यान्वयन नगरेर प्रदेश प्रमुख मियाँ सोही दिन प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन काठमाडौं गएका थिए ।
स्वास्थ्य समस्याको कारण देखाउँदै उनी नफर्किएपछि प्रदेश प्रमुखको कार्यालयले सरकारको बजेट अधिवेशन अन्त्य सम्बन्धी शिलबन्दी पत्र बिहीबार काठमाडौं पठाएको थियो ।
राजनीतिक समीकरण फेरिएसँगै २० असारमा एमाले सरकारबाट बाहिरिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । उनले बहुमत जुटाउने सम्भावना देखिएको छैन । बजेट फेल हुँदा पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने मिति समेत निर्धारण गरेका छैनन्।
एमालेले समर्थन फिर्ता लिएकै कारण चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको ३१ अर्ब ६२ करोड बराबरको बजेट पारित हुन नसक्दा प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको छ ।
मुख्यमन्त्री सोडारीले बजेट शून्यताको अवस्था अन्त्य गर्न अध्यायदेश तयार भएको बताउँदै प्रदेश प्रमुखले जारी गर्न मात्र बाँकी रहेको बताउँदै आएका छन् । तर नेपाली कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्री सोडारीको राजीनामा मागि रहेका छन्।
बिहीबार मात्रै संयुक्त विज्ञप्ति गरी दुवै दलले अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्। ‘आर्थिक वर्ष २०८१/०८२ को प्रदेशको बजेट किन आएन ? अथवा अरू जायज विकल्पहरू किन खोजिएन ? यसको जवाफ त सरकारले दिनु नै पर्ला तर आर्थिक डेडलकको अवस्थामा आइपुग्दा अल्पमतमा रहेको कामचलाउ सरकार र माननीय मुख्यमन्त्री दिर्घ बहादुर सोडारीलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) कैलाली आग्रह गर्दछ,’ दुई दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भीर परिस्थितिमा संवेदनशील भई प्रदेशको गरिमा बढाउन सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने प्रदेशमा रहेका राजनीतिक दल र माननीय प्रदेश सदस्यहरूलाई आग्रह गर्दछौँ ।’
नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुगाना र नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा प्रदेश सरकारले समय छँदै प्रदेश सभामा बजेटमाथिको छलफल गराउनु पर्नेमा जानाजान ढिलासुस्ती गर्नुका साथै अन्य वैधानिक विकल्पहरूको खोजी समेत नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्याएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।





प्रतिकृया दिनुहोस्