कांग्रेस र एमालेले मुख्यमन्त्री सोडारीलाई भने- ‘अब सरकार सञ्चालनको नैतिकता छैन, राजीनामा दिनु होस्’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकार सञ्चालनका लागि नैतिकता गुमाइ सकेकाले तत्काल राजिनामा दिन आग्रह गरिएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले सरकार सञ्चालनका लागि नैतिकता गुमाइ सकेको भन्दै तत्काल राजिनामा दिन आग्रह गरेको हो।
दुवै पार्टीको संसदीय दलले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस यसअघि नै विपक्षमा रहेको र नेकपा एमालेको संसदीय दलले सरकारबाट समर्थन फिर्ता लिइसके पश्चात् सोडारी नेतृत्वको वर्तमान प्रदेश सरकार अल्पमतमा परेको बताएको छ। यस परिस्थितिमा मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले सरकार सञ्चालन गर्ने नैतिक आधार गुमाइसकेको विज्ञप्तिमा उल्लेख छ।
नेपाली कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाह र नेकपा एमाले संसदीय दलको नेता राजेन्द्रसिंह रावलले सोडारीलाई मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न अनुरोध गर्नु भएको छ। साथै बहुमत गुमाइ सकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्यहरू सम्पादन नगर्न र नगराउन आग्रह गरिएको छ।
केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सङ्घीय सरकार गठनको लागि पहल कदमी भइरहेको वर्तमान परिस्थितिमा सुदूरपश्चिम प्रदेशमा पनि राजनीतिक स्थायित्व, समृद्धि र विकासलाई तीव्रता प्रदान गर्ने उद्देश्यले नेकपा एमालेले सोडारी नेतृत्वको सरकारबाट असार २० गते समर्थन फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ।
प्रतिकृया दिनुहोस्