March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

सत्ता समीकरण परिवर्तनले सुदूरपश्चिम प्रदेशको बजेट अन्योलमा

धनगढी। सुदूरपश्चिम प्रदेशको बजेट पारित हुनेमा अन्योल भएको छ । केन्द्रीय सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशको बजेट पारित हुनेमा अन्योल भएको हो ।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले राजनीतिक अस्थिरताको कारण बजेट पारित हुन नसकेको बताएका छन् । ‘सरकार बन्ने बेलामा पनि सहज ढङ्गले बनेको थिएन । कहिले समर्थन गरेजस्तो, कहिले विश्वासको मत दिने जस्तो एमालेले गरिरह्यो । पछि विश्वासको मत दिएको थियो । तर, बजेट आए पनि छलफल नै सुरु नभईकन एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि झनै समस्या भयो,’ उनले भने, ‘अब अध्यादेशको बाटो जान्छ होला ।’

प्रदेशमा बजेट आउनु अगाडि नै कर्मचारी संयन्त्रबाट बजेट चुहिएको भन्दै कांग्रेस संसदीय दलले विरोध गर्दै आएको थियो । बजेटसम्बन्धी रातो किताब संसदमा प्रस्तुत गर्नु अगाडि नै बाहिरिएको काँग्रेसको दाबी छ । सो विषयमा उच्चस्तरीय छानबिन हुने सभामुख भण्डारीले जानकारी दिए ।

यस्तै प्रदेश सचिव देव बहादुर बोगटीले बजेटको विषयमा अन्योल रहेको बताए । ‘बजेट ल्याएपछि अर्को बैठक संसद्को बस्न सकेन । राजनीतिक फेरबदलको कारण अब सम्भावनै रहेन,’ उनले भने, ‘मुख्यमन्त्री पार्टीको केन्द्रीय अधिवेशन थियो । फर्केर गर्ने भन्ने थियो । तर, त्यो सम्भावना पनि अब कमजोर भयो ।’ उनले रातो किताब प्रकाशित भइसकेको र विनियोजन विधेयक पनि सार्वजनिक भएको बताए । 

प्रदेश सचिव बोगटीले भने, ‘दलहरूको बिचमा सहमति भयो भने पास होला, त्यो माननीयज्यूहरूकै कुरा हो ।’ अबको विकल्प यसलाई पारित गर्ने, असार मसान्तभित्र अर्को सरकार बनाएर पुनर्लेखन गर्ने या अध्यादेश ल्याउनु पर्ने उनले बताए । 

अहिलेको सरकार अल्पमतमा परिसकेको कारण अध्यादेशबाट ल्याए पनि प्रदेश प्रमुखले अस्वीकार गर्न सक्ने उनले बताए । त्यहाँ नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घ सोडारी मुख्यमन्त्री छन् । एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारीलाई नयाँ समीकरण बनेसँगै एमाले र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस–एमाले मिलेर सरकार बनाउने तयारीमा छन् ।