सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरियो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा एकीकृत समाजवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मुख्य साझेदार दल एमालेले समर्थन फिर्ता लिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिएका सागै मन्त्रीहरुले आज राजीनामा दिने हुन् । बिहीबार दिउँसो संसदीय दलको बैठकबाट समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामा दिने निर्णय भएको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए ।
एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । एमालेबाट सोडारी सरकारमा तीन जना मन्त्री छन् ।
सुरेन्द्रबहादुर पाल आर्थिक मामिला, विरबहादुर थापा वन वातावरण तथा सहकारी र हीरा सार्की आन्तरिक मामिलामन्त्री छन् । उनीहरु मन्त्री नियुक्त भएको एक महिना पनि पुगेको छैन । जेठ २८ गते मन्त्री नियुक्त भएका उनीहरुमध्ये पाललाई मात्रै मन्त्रालय तोकिएको थियो ।
त्यसबेला बिनाविभागीय मन्त्री नियुक्त भएका थापा र सार्कीलाई असार १६ गते विभागीय जिम्मेवारी तोकिएको थियो । अर्थात् थापा र सार्की ४ दिनमात्रै विभागीय मन्त्री भएका छन् ।
एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ समूह) र एक जना स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र १ जना स्वतन्त्र सांसदले जेठ ३ गते विश्वासको मत दिएका थिए ।
त्येसैगरी लुम्बिनी प्रदेशमामा पनि एमालेले नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको छ । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै एमालेबाट सरकारमा गएका पाँच मन्त्रीले राजीनामा दिएका हुन ।
एमालेका संसदीय दलका नेता लीला गिरीले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी प्रदेशसभामा दिइएको बताए । बिहीबार नै एमालेबाट सरकारमा गएका ५ मन्त्रीले राजीनामा बुझाएका हुन ।
संसदीय दलका नेता गिरीका अनुसार मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेशसभाका सभामुख तुलाराम घर्तीलाई बुझाइएको र मन्त्रीको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराको सरकारी निवासमै पुगेर बुझाइएको हो ।
राजीनामा बुझ्दै मुख्यमन्त्री महराले असार २४ गतेसम्म पर्खिएर दिएको भए आफूले पनि सहज रुपमै राजीनामा दिने तयारीमा रहेको जानकारी गराएका थिए । असार मसान्त आउनै लागेको र आर्थिक मामिलामन्त्रीले राजीनामा दिएपछि कतिपय योजनाको भुक्तानीमा समस्या पर्न सक्ने मुख्यमन्त्री महराको गुनासो थियो ।
एमाले संसदीय दलका उपनेता एवं आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले पनि आफ्नो नेतृत्वमा एमालेका सबै मन्त्रीले राजीनामा बुझाएको बताए । ‘हामीले राजीनामा दियौं र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पनि गरायौं,’ उनले भने, ‘मुख्यमन्त्रीले केही दिन राजीनामा दिन हतार नगरेको भए राम्रो हुने बताउनुभयो ।’
लुम्बिनी प्रदेशमा गत चैत २३ गते एमालेसहितका ५ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ४८ जनाको समर्थनमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री बनेका थिए । लुम्बिनीमा एमालेबाट आर्थिक मामिलामा आचार्यसहित आन्तरिक मामिला तथा कानुनमन्त्रीमा दिनेश पन्थी, सहरी विकास तथा खानेपानीमन्त्रीमा भूमिश्वर ढकाल, सामाजिक विकासमन्त्रीमा रत्न खत्री र वन तथा वातावरण मन्त्रीमा अर्जुनकुमार केसी रहेका थिए ।
गत चैत २३ गते माओवादी केन्द्रका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका २९, माओवादीका १०, जसपाका ३, नागरिक उन्मुक्तिका ४, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४८ जनाको समर्थन थियो । जसपा टुक्रिएपछि जसपा नेपालतर्फ लागेकी अम्बिका काफ्लेले असार ९ गते नै समर्थन फिर्ता लिएकी छन् । एमालेका २९ जनाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराको समर्थनमा माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपाका २, एकिकृत समाजवाद र स्वतन्त्र १/१ गरी १८ जनाको मात्र रहनेछ ।





प्रतिकृया दिनुहोस्