सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि काँग्रेस र एमालेका नेताबीच छलफल

धनगढी। सुदूरपश्चिम प्रदेशमा पनि केन्द्रीय सत्ता समीकरणमा आएको परिवर्तनसँगै नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताबीच छलफल भएको छ । दुबै दलका संसदीय दलका नेताबीच मंगलवार महेन्द्रनगरमा छलफल भएको हो ।
अहिले सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसहितको समर्थनमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर, फेरिएको केन्द्रीय समीकरणपछि एमाले र कांग्रेसले नयाँ सरकार गठनको लागि छलफल थालेका हुन् ।
नयाँ सरकार गठनबारे सुदूरपश्चिम प्रदेश काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह र एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावलबिच संयुक्त सरकार बनाउने विषयमा छलफल भएको काँग्रेसका प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले बताए।
सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा छलफल भएको देउवाले बताएका छन् ।उनले छलफल अत्यन्त सौहाद्र्धपूर्ण र सकारात्मक भएको बताए । उनले दुबै दलका नेताले सुदूरपश्चिम प्रदेशमा विकास र सुशासन दिनेगरि सरकार गठन गर्ने विषयमा छलफल भएको बताएका छन् ।
‘अहिले सरकार सुस्त मात्रै होइन जनताको अपेक्षा भन्दा बाहिर गएको आभास सबैलाई भएको छ तर, अब कांग्रेस र एमालेको सरकार जनताको भावना अनुसार सुशासन र विकास निर्माणलाई तीव्रता दिने गरि बनाउने विषयमा छलफल भएको हो ’ देउवाले भने ‘अव गठन हुने सरकारले जनतालाई सरकारको आभास दिलाउने विषयमा दुबै दलका नेताहरू बिच कुरा भएको छ । ’
सुदूरपश्चिम प्रदेशमा कांग्रेससँग १८ र एमालेसँग ११ सांसद छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । कांग्रेस र एमाले मात्रै मिल्दा पनि यहाँ बहुमतको सरकार गठन हुन्छ ।
भागबन्डा मिलाउन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फोडेका छन् । मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएका छन् ।
भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।
यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय । उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।
मन्त्रालय फोड्ने विषयको विरोध गरेको कांग्रेसले अब पूर्ववत् अवस्थामै मन्त्रालय फर्काउन लबिङ गर्ने बताएको छ । एमालेले पनि सुशासन र विकासको लागि पूर्ववत् अवस्थामै मन्त्रालय फर्काउनु पर्ने बताएको छ ।
एमाले सांसद धर्मराज पाठकले पनि मन्त्रालय फुटाउँदा विरोध गरेको भन्दै अब नयाँ सरकार गठन हुँदा यस विषयमा पुन छलफल गरिने बताए।
‘यस विषयमा ठोस छलफल भएको छैन तर, मन्त्रालय धेरै बनाएर सेवा सुविधा केन्द्रित हुनुभन्दा कम मन्त्रालय बनाएर जनतालाई सेवा धेरै दिने कुरा प्रधान हो हामी पूर्ववत् अवस्थामै मन्त्रालय फर्काउने गरि कुरा अगाडी बढाउँछौँ’ सांसद पाठकले भने ।





प्रतिकृया दिनुहोस्