नवदुर्गा गाउँपालिकाको भवन पाँच वर्षदेखि अलपत्र, ठेकेदार सम्पर्क विहीन

डडेल्धरा । डडेल्धराको नवदुर्गा गाउँपालिकाको भवन निर्माण कार्य अलपत्र परेको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम तीन वर्ष देखि अलपत्र परेको हो ।
नवदुर्गा गाउँपालिकाका सूचना अधिकारी करुणाकर भट्टका अनुसार आर्थिक वर्ष २०७८/२०७९ को असारमा सम्पन्न गर्ने गरी ६ करोड कुल लागतमा ठेक्का भएको भवन निर्माणको काम ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागतमा प्रशासनिक भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/२०७७ मा ठेक्का सम्झौता भएको सूचना अधिकारी भट्टले बताए ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लगी निर्माण कम्पनी स्वर्गद्वारी ड्रागन जेभी कन्ट्रक्सनसंग चार करोड ७४ लाख रुपियाँ बराबरमा ठेक्का भएको थियो। निर्माण व्यवसायीले अलि अलि काम गर्दै भुक्तानी लिँदै जाने गरेका कारण भवन निर्माणको काम अहिले सम्म अधुरै रहेको उनले बताए।
पटक पटक म्याद थप गरेर भवन निर्माणको करिब ८० प्रतिशत काम सकिएको छ । अहिले ठेकेदार सम्पर्क विहीन रहेका छन् । २० प्रतिशत काम अझै बाँकी रहेको उनले बताए। चार तला र ३० कोठा रहने भवनमा झ्याल, ढोका, शौचालय, विद्युत् जडानका काम पुरै बाँकी छ ।
नवदुर्गा गाउँपालिकाले प्रशासनिक काम हाल अस्थायी घरबाट गर्दै आइरहेको छ । वडा नं. २ मा रहेको आफ्नै जमिनमा अस्थायी भवन बनाई पालिकाले सेवा प्रवाह गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्