April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम सरकार विस्तार : नाउपाकी थापाले लिइन् मन्त्रीको शपथ, २१ गते विश्वासको मत लिने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार भएको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आजै नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले आज उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो । तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा मुख्यमन्त्री सोडारीलाई आफ्नो समर्थन नरहेको साथै सरकारमा समेत नजाने विज्ञप्ति जारी गरेकी थिइन् ।

मंगलबार बसेको प्रदेशका सत्ता साझेदार दलको बैठकले नाउपालाई थप एक मन्त्रालय दिने सहमति भएको थियो । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले यस अघि भौतिक पूर्वाधार विकास मन्त्रीमा नाउपाका कैलाश चौधरीलाई नियुक्त गरेका थिए। 

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीका अनुसार आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ। 

बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी सहभागी थिए ।

एमाले र माओवादी केन्द्रलाई समेत सरकारमा सहभागी हुन सोडारीले आग्रह गरेका छन् । तर, उनीहरु दुवै दलले विश्वासको मत पछि मात्र सरकारमा सहभागी हुने जवाफ फर्काएको स्रोतको भनाइ छ ।

एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।