सुदूरपश्चिम प्रदेशमा सोडारी सरकार एक महिनामै ढल्ने सम्भावना बढ्यो, नाउपाले समर्थन फिर्ता लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत नपाउने सम्भावना बढदै गएको छ । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्तालिने संकेत गरेसंगै सोडारी सरकार विश्वासको मत नपाएर ढल्ने सम्भावना बढेर गएको हो ।
नेकपा एमालेले बझाङ निर्वाचनमा समाजवादीले सहयोग नगरेको आरोप लगाएको छ भने नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन फिर्ताको संकेत गरेपछि वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारी सरकार विश्वासको मत नपाएर ढल्ने सम्भावनाबढदै गएको हो ।
एमालेले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा भने कुनै निर्णय गरेको छैन । एमालेले बझाङमा नेकपा एकीकृत समाजवादीले एमाले हराउन भूमिका खेलेको एमाले नेताहरूबीच चर्चा छ । एमाले उम्मेदवार पराजित भएमा नेकपा एकीकृत समाजवादीकै कारणले त्यो अवस्था सृजना हुन सक्ने उनीहरुको बुझाइ छ । त्यस्तो अवस्थामा विश्वासको मत दिन नहुने मत एमालेमा बलियो रहेको छ ।
‘हामी बझाङको निर्वाचनको परिणाम पर्खिरहेका छौं । बझाङमा एमालेकै मत काटने गरी समाजवादीले उमेदवार उठायो, पछिसम्म पनि चुनावमा सहकार्य गरौं भन्दा मानेन, बझाङको नतिजा पछि मात्रै सरकारमा जाने नजाने टुंगो लाग्छ’ नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले भने ।
एमालेले बझाङमा हारेपछि, त्यसको बदला सोडारी सरकारलाई विश्वासको मत नदिने मुड बनाएको छ । सोडारीले मुख्यमन्त्रीमा नियुक्ति पाउदाका बखत पनि एमालेले उनको ठाउँमा पात्र परिवर्तनको अडान राखेको थियो । यद्यपी नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले नै सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
शनिवार उन्मुक्तिका संरक्षक रेशम चौधरीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीले चाँडै समर्थन फिर्ता लिने अभिव्यक्ति सार्वजनिक गरेका थिए । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसहित रहेको फोटो सार्वजनिक गर्दै रेशमले लेखेका छन्, ‘हामी छिट्टै लुम्बिनी र सुदूर पश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ । ’ सुदूरपश्चिम र लुम्बिनी दुबै प्रदेशमा अहिले रन्जिता पक्षमा दुई मन्त्री छन् । दुबै भौतिक पूर्वाधार विकास मन्त्री हुन् ।
सुरुबाटै रेशम चौधरी वर्तमान सरकारलाई समर्थन नगर्ने पक्षमा थिए । उनी काङ्ग्रेसकै नेतृत्वमा सरकार बनाउन चाहन्थे र उनी निकटका पाँच सांसद अहिले पनि सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा छैनन् ।
रन्जितासहितको छलफलको फोटो राख्दै रेशमले दुई प्रदेशको समर्थन फिर्ता लिने अभिव्यक्तिलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । उक्त छलफलमासँगै रहेका नाउपाका नेता ठाकुरसिंह थारुले चाँडै सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिने समझदारी भएको बताए ।
‘उहाँहरूबीच छलफल भएको हो । सरकारको समर्थन फिर्ता लिने कुरा भएको छ’ उनले भने ।
एमालेका कारण मात्रै होईन, सत्ताको अर्को सारथी नागरिक उन्मुक्तिभीत्रको विवादले पनि सोडारी संकटमा परेका छन । नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन फिर्ता लिए वा विश्वासको मत नदिएर सरकार एक महिना भन्दा बढी चल्ने अवस्था छैन ।
नेकपा माओवादीले पार्टीले तयार गरेको कार्यदलको सुझाव पर्खिरहेको छ । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा हरि चौधरी उत्सव, जगत पार्की, रुपा चौधरी र मानबहादुर धामी सदस्य रहने गरि सरकारमा सहभागी हुन मन्त्रीहरूको मापदण्ड तयार गर्ने काम गरिरहेको छ ।
‘हामी छलफलमा छौँ कहीँ दिनमै मापदण्ड तयार हुन्छ ’ संयोजक भट्टले भने । माओवादी संसदीय दलका नेता अक्कल रावलले भने केन्द्रमा शीर्ष नेताहरूबिचको छलफल पछि प्रदेशमा सरकार विस्तार हुने विश्वास व्यक्त गरे ।
‘उपनिर्वाचन सम्म सरकार विस्तार नगर्ने कुरा थियो । अब बिस्तार हुन्छ’ उनले भने, ‘यस विषयमा अझै केन्द्रमा छलफल हुँदै छ ।’





प्रतिकृया दिनुहोस्