सुदूरपश्चिम प्रदेशमा सरकारको दाबी गर्ने आज अन्तिम दिन, दलहरूबीच अझै ठोस सहमति हुन सकेन

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दिइएको समय सीमा आज सकिंदैछ । सरकार गठनको अन्तिम दिनसम्म पनि दलहरूबीच भने ठोस सहमति हुन सकेको छैन ।
कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा बढि दलहरू मिलेर सरकार निर्माणको लागि दाबी पेस गर्न आज साँझ ५ बजे सम्मको समय दिएका थिए ।
प्रदेश प्रमुखले दिएको समय आज सकिँदै गर्दा पनि दलहरू बीचको विवाद र अडानका कारण ठोस सहमति जुट्न नसकेको हो । सत्ता समीकरण फेरिएपछि सुदूरपश्चिममा निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई मुख्यमन्त्री दिने नयाँ गठबन्धनमा सहमति भइसकेको बताइएको छ ।
नाउपाभित्र मुख्यमन्त्रीका रूपमा कसलाई अघि बढाउने भन्ने विषय विवादमा छ । नेकपा एकीकृत समाजवादीले पनि आफ्नो दाबी कायमै राखेको छ । तर, सत्ता गठबन्धनले आइतबार साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र विवाद देखिएपछि मुख्यमन्त्रीको लिखित सहमति हुन ढिलाइ भइरहेको नेताहरूले दाबी गरेका छन् । नागरिक उन्मुक्ति पार्टीकै प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीका रूपमा अघि सारिने गठबन्धनमा आवद्ध एक सांसदले बताए ।
नाउपामा अध्यक्ष रञ्जिता पक्षले प्रदेश सभा सदस्य कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि विवाद भएको छ ।
सरकारमा दाबी पेश गर्न ढिलाइ भइरहेको माओवादी संसदीय दलका उपनेता अक्कल रावलले बताए । ‘अहिले सम्म पनि नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद सकिएको छैन, त्यही कारण ढिलाइ भइरहेको हो उनले भने ‘छलफल भइरहेका छन् , आज चाडै सबै कुरा टुङ्गो लाग्छ।‘
नाउपाकि अध्यक्ष रञ्जिता श्रेष्ठले आझै आफु काठमाडौंबाट धनगढी पुगेपछि कैलाश चौधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरिने बताइन् ।
सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ । कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नाउपाकी इन्दिरा गिरी पदमुक्त छिन् । यहाँ बहुमत पुर्याउन २७ सांसद चाहिन्छ ।
नयाँ सत्ता गठबन्धनका सभामुख बाहेक माओवादी केन्द्रका १०, एमालेका १० नाउपाका ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । नाउपाको विवाद भने अझै सुल्झिएको छैन ।





प्रतिकृया दिनुहोस्