April 20, 2026, Monday
२०८३ बैशाख ७

सुदूरपश्चिम प्रदेशसभाकी सांसद इन्दिरा गिरी पदमुक्त

धनगढी । सुदूरश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई प्रदेश सभा सदस्य पदबाट पदमुक्त गरिएको छ । सभामुख भीमबहादुर भण्डारीले राजनीतिक दल सम्बन्धी ऐन ०७३ दफा ३५ बमोजिम प्रदेश सभा सदस्य पदबाट फिर्ता बोलाइएको पत्र सोमबार प्रदेश सभा सचिवालयमा टाँसेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद निवार्चित गिरीलाई सांसद पदबाट फिर्ता बोलाउन पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत्र २१ गते सभामुख भण्डारीलाई पत्र पठाएकी थिइन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको कामचलाउ सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री गिरीलाई पार्टीकी अध्यक्ष श्रेष्ठद्वारा सांसद पदबाट फिर्ता बेलाउन गरिएको पत्राचारका आधारमा गिरीलाई पदमुक्त गरिएको हो ।

प्रदेशसभा बैठक नचलेको अवस्थामा सूचना टाँस गर्ने प्रावधान प्रदेश सभा नियमावलीले गरेको छ । सूचना टाँस्नु भनेको पदमुक्त हुने प्रक्रिया भएको सभामुख भण्डारीले बताए ।

नागरिक उन्मुक्ति पार्टीमा उत्पन्न आन्तरिक बखेडाको घानमा गिरी परेकी हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद चर्किएर सो पार्टीका सांसदहरु समेत दुई समूहमा विभाजित भएका छन् । त्यसक्रममा इन्दिरासहित पाँच सांसद रेशम पक्षमा र दुई सांसद रञ्जिता पक्षमा लागेका थिए ।