April 18, 2026, Saturday
२०८३ बैशाख ५

उपनिर्वाचन : बझाङमा १२ र इलाम २० जनाको उम्मेदवारी दर्ता, आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

धनगढी। बझाङको प्रदेशसभामा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बझाङ निर्वाचन क्षेत्र १ को ‘क’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकोले त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

उम्मेदवारी दर्ता गर्न दलहरूलाई शनिबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय दिइएको थियो। सो समयमा दलहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन्।

उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का रहेका छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, जनमत पार्टीकी सुशीलादेवी विष्ट, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेशनल रिपब्लिक पार्टीका कमल घर्तीमगर, नेपाली जनता दलका अशोक सुनार र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

४ मंसिर २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । तर उनको गत ५ असारमा गाडी दुर्घटनामा निधन भएपछि यो क्षेत्र जनप्रतिनिधिविहीन भएको थियो । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अभिषेक उनै दिवंगत नेता पृथ्वी सिंहका छोरा हुन् ।

निर्वाचन आयोगले  शनिबार इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरेको थियो ।  आयोगका अनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र आठ स्वतन्त्र उम्मेदवार गरी कुल २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरुष छन् ।

बझाङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ । जसमध्ये एक महिला र ११ पुरुष रहनु भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आज  उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । आयोगका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र तथा उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ ।

आगामी वैशाख १५ गते शनिबारका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ । आयोगले मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोग सम्बन्धित सबै मतदातामा आह्वानसमेत गरेको छ ।