April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

एसईईको तयारी पूरा, सुदूरपश्चिम प्रदेशबाट ५५ हजार बढी विद्यार्थी सहभागी हुँदै

धनगढी । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन्। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५५ हजार १० जना विद्यार्थी सहभागी हुने भएका हुन्।

सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दिपायल डोटीका अनुसार ५५ हजार १० जना विद्यार्थी मध्ये २७ हजार दुई सय ४४ छात्र र २७ हजार ७ सय ६६ छात्राहरु रहेका छन्।

निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहराले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेशमा एसईई परिक्षाका लागि २ सय ११ केन्द्राध्यक्ष, ३ सय ७४ सहायक केन्द्राध्यक्ष, २ हजार ७ सय ४३ निरीक्षक, ५ सय ५५ सहायक कर्मचारी तोकिएको छन्।

सूचना अधिकारी बोहराले एक परिक्षा केन्द्रमा १५ जना खटिनेगरी तीन हजार एक सय ६३ प्रहरी परिचालन गरिने बताए। सुदूरपश्चिम प्रदेशमा परीक्षाका लागी ८ हजार १४३ जना कर्मचारी परिचालित हुने छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी परिक्षार्थी कैलालीबाट १८ हजार ७ सय २० जना र सबैभन्दा कम डडेल्धुराबाट दुई हजार पाँच सय ५७ जना परिक्षार्थी सहभागि हुँदैछन्।

यस्तै कञ्चनपुरबाट १० हजार ३ सय ३५, बैतडीबाट ५ हजार ८७, अछामबाट चार हजार ९ सय ५०, बझाङबाट ४ हजार ३ सय ८०, डोटीबाट ३ हजार २ सय ९७, बाजुराबाट २ हजार ९ सय ३४ र दार्चुलाबाट २ हजार ७ सय ५० जना विद्यार्थी परिक्षामा सहभागि हुनेछन् ।

कञ्चनपुरमा दुईवटा र बझाङमा थप एउटा केन्द्र तोकिएको छ । गत वर्ष दुई सय ८ परिक्षा केन्द्र तोकिएकोमा यस बर्ष तीनवटा थप गरिदा दुई सय ११ परिक्षा केन्द्र राखिएका हुन् ।

यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस बर्ष पनि नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने निर्देशनालयका सूचना अधिकारी बोहराले बताए । यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा सबै विषयमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। देशभरका परीक्षा केन्द्रमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला जिल्लामा पठाइसकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।