July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

‘गाउँ रित्तिन लागिसक्यो, मलामी समेत नपाइने अवस्था छ’

बझाङ । पारू गिरीको फोनमा नेटवर्कले काम नगरेको एक साता भएको थियो। प्रत्येक रात डरलाग्दो सपनाका आउन थालेपछि उनी राम्ररी  निदाउन समेत सकेकी थिइनन्।

छोराबुहारीको हालखबर बुझ्न गाउँमा अरू कसैको मोबाइमा पनि नेटवर्क थिएन। सातापछि बल्ल मौसम खुल्यो। नेटवर्क आयो र फोनमा कुरा भयो। सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो।

आफ्ना वरिपरि रहेकालाई आफ्नो बेचैनीबारे सुनाउँदै थिइन् पारू। पारू छबिसपोखरी गाउँपालिका-१  परिङालमा दुई नातिलाई लिएर बसेकी छन्। छोराबुहारी रोजगारीका लागि भारतको बैङ्लोर गएका रहेछन्। बेलाबेला उनीहरूको चिन्ताले पारू बेचैन बन्छिन् र वरिपरिकालाई सुनाउँछिन्।

‘हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो। लेखान्तमा जे लेखियो, त्यहीँ भोग्नुपर्दो रहेछ,’ उनले भनिन्।

पारूका दुई नाति जीवन र सक्षम गाउँकै भैरव आधारभूत विद्यालयमा पढ्छन्। छोरा बुहारीले भारतमा मजदुरी गरेर कमाएको पैसा बेलाबेला पठाइदिन्छन्। त्यसैबाट नातिहरूको लालनपालन र घरखर्च चलाउँछिन्।

पारिङालवासी अधिकांशको ब्यथा त्यस्तै छ। त्यहाँ ८० घरपरिवार छन्। चार सय जनसंख्या भएको वस्ती अहिले सुनसानजस्तै छ। काम गर्नसक्ने उमेरका सबै परदेशिएका छन्। गाउँमा वृद्धवृद्धा र केटाकेटी मात्रै छन्।

वृद्धवृद्धा छोराछोरीकै पीरमा हुन्छन्। आँगनमा काग करायो भने केही अशुभ हुने हो कि भनेर मन आँतिन्छ, स्थानीय चन्द्रा गिरी भन्छिन्, ‘परदेशिएकाहरुलाई केही नहोस् भनेर दियो बालिरहन्छौँ। भगवानको आराधना गरिरहन्छौँ। चिन्ता बैङलोरकै हुन्छ।’

चन्द्राका अनुसार प्राकृतिक विपदका कारण ३० भन्दा बढि परिवारले गाउँ नै छाडिसकेका छन्। कतिपयले बैंग्लोरमा कमाएको पैसाले तराइतिर घरजग्गा जोडेका छन्। कतिले भारतमै परिवारलाई लगेका छन्।

पहिले पहिले कोही पनि भारत जाँदैनथे।गाउँमै खेतीपाती गरेर सबैको गुजारा हुन्थ्यो। अहिले जग्गाजमिन बाढीले निल्यो, घर भूकम्पले निल्यो। त्यसपछि गाउँ नै चौपट भयो,’ उनले भनिन्।

चन्द्राको घरमा नौजना सदस्य छन्। गाउँमा भने अहिले चारजना मात्रै छन्। ‘छोराछोरीको स्याहार गर्ने मान्छे नहुनाले आफैँले गाउँमा बस्नुपरेको हो। नत्र मेरो उमेरका महिला/पुरुष कोही गाउँमा बस्दैनन्। सबै बैङलोरमा गएर कमाउँछन्,’ उनले भनिन्।

परिङालकै लक्ष्मी गिरीको परिवारमा १३ जना छन्। उनी तीन जना नातानातिनाको रेखदेख गरेर गाउँमा बस्छिन्। सामाजिक सुरक्षा भत्ता र बैङ्लोरबाट छोराबुहारीले पठाउने पैसाले खर्च चलाउँछिन्।

‘सबै कमाउने उतै छन्। उनीहरुले कमाएको पनि खानलाई मात्र पुग्छ,’ उनले भनिन्। पेट पाल्नकै लागि विदेश जानेको सङ्ख्या बढेपछि गाउँ रित्तिन थालेको छ। सामाजिक काम तथा ठूलो काम गर्न गाउँमा मान्छे नै नभएको उनले बताइन्।

‘अहिले गाउँ पूरै रित्तिन लागि सक्यो। गह्रौँ काम गर्ने मान्छे अहिले गाउँमै छैनन्। यतिसम्म कि मान्छे मर्दासमेत मलामी नपाइने अवस्था आइसक्यो,’ उनले भनिन्।

गत असोजको भूकम्पपछि गाउँमा १५ परिवार घरमा तालाबान्दी गरेर भारत गइसकेका छन्। अन्य परिवारमा पनि अधिकांश सदस्य भारतमै गएको लक्ष्मीले बताइन्।

‘हरेक दसैँमा हरेक परिवारले परदेशिएकाहरुको बाटो कुर्नुपर्छ। कति परिवारले त दुई–तीन वर्षपछि मात्रै भेट्न, सुखी साट्न पाउँछन्,’ उनले भनिन्।

विसं २०५७ मा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो। आफूलाई पर्याप्त भएर अन्न बेच्ने परिङालबासीलाई दुई दशकयता भने सङ्कटै सङ्कटले झेलिरहेको छ। दुई वर्षअघि २०७८ असोज ३० देखि कात्तिक ३ गतेसम्म आएको बाढीले बचेको सबै जिउलो बगायो।

आँगनमा भएको जिउलो मात्रै नभई छिमेकी बगरगाउँमा भएको जिउलोको समेत नामोनिसान मेटाइदियो। गत असोजको भूकम्पले फेरि घरहरू नोक्सान गरेपछि युवाहरु बैङ्लोर जानुको विकल्प नभएको जनाउँदै परदेशिए।

स्थानीय प्रमानन्द गिरीका अनुसार परिङालको ८५ प्रतिशत जनसङ्ख्या भारतमा छ। गाउँमा बालबालिका र वृद्धवृद्धाको आश्रम जस्तै छ।

‘बालबालिकालाई भारतमा पढाउन महँगो पर्ने हुँदा सबैले गाउँमै राखेका छन्। वृद्धवृद्धा पनि बैङलोरमा कमाउन नसक्ने र गाउँमा सामाजिक सुरक्षा भत्ता पाउने हुँदा घरमा बस्नुपरेको हो। भत्ता नपाए पनि काम गर्न नसक्नेको बैङलोरमा पनि काम छैन,’ उनले भने।

भूकम्पले क्षति भएका परिवारका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्थायी संरचना बनाइदिएको छ।

‘जनता असुरक्षित नहोउन् भन्दै हामीले सबै निकायसँग समन्वय गरिरहेका छौँ,’ फियान नेपालकी फिल्ड अधिकृत सीता सिंहले भने, ‘बाढी तथा भूकम्प पीडितलाई राहत दिन होस् वा नदी कटानलाई नियन्त्रण गर्न होस्। हामी सबै निकायसँग समन्वय गरिरहेका हुन्छौँ।’

रेडक्रसले बनाइदिएका अस्थायी टहरा र बगरगाउँमा करोडभन्दा बढी मूल्यको ग्याबिन लगाउने काम भइरहेको उनले बताए। छविसपाथीभेरा गाउँपालिका–१ का वडाध्यक्ष करनजङ्गबहादुर सिंह पनि गरिबमाथि नै पटकपटक विपद् आएकामा चिन्ता गर्नुहुन्छ।

‘सुगाला र परिङालका पीडितलाई प्रकृतिले पनि कहिल्यै सुख नदिने भयो। कहिले बाढी त कहिले भूकम्पले उठीवास गर्न थालेको छ, उनले भने।

प्रभावित बासिन्दालाई विभिन्न सङ्घसंस्थाबाट केही राहत भए पनि सरकारका तर्फबाट राहत पाउन केही समय लाग्ने उनले बताए।

‘सरकारले घोषणा गरेको ५० हजारका दरले प्रशासनमा आइसकेको भन्ने छ। यसका लागि सम्पूर्ण कागजात तयारी गर्दै छौँ। रकम आएपछि सबै परिवारलाई वितरण गर्छौं,’ वडाध्यक्ष सिंहले भने। रासस