February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

भारतबाट फर्किएका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा बिहीबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका २ जनामा संक्रमण देखिएको हो ।

गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज प्रेम सिंह भण्डारीका अनुसार बिहीबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । उनीहरुलाई काउन्सिलिङ गरेर होम आइसोलेसनमा बस्ने गरी घरतर्फ पठाइएको इन्चार्ज भण्डारीले बताए ।

पुसयता गड्डाचौकी नाकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुस अन्तिम साता ३ जनामा संक्रमण देखिएको थियो भने माघ २ मा थप १ जनामा संक्रमण देखिएको थियो ।

यसैगरी गौरीफण्टा नाकामा पनि बिहीबार ७९ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको छ । हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार पुसयता गौरीफण्टा नाका भएर घर फर्किनेमध्ये हालसम्म २० जनामा संक्रमण पुष्टि भएको छ ।

गड्डाचौकी र गौरीफण्टा नाकामा हालसम्म पुष्टि भएकाहरुमा नयाँ भेरियन्ट भने देखिएको छैन । सुरुमा देखिएका ९ नमुनाको राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा पूरानै भेरियन्ट पुष्टि भएको हो ।