February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

अगुवा किसान र कृषि विज्ञसंग गर्‍यो आदर्श गाउँपालिकाले छलफल

डोटी । आदर्श गाउँपालिकाले अगुवा किसान र कृषि विज्ञसंग छलफल गरेको छ । डोटीको आदर्श गाउँपालिकाले कृषि सम्बन्धीका सवालहरूलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका अगुवा किसान र कृषि विज्ञ बिच शुक्रवार छलफल गरेको हो ।

आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले पालिकाभित्र रहेका कृषि सम्बन्धीका समसामयिक सवालहरूलाई मध्यनजर गर्दै किसानका समस्या पहिचान गरी समाधानमा सहयोग पुगोस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताएका छन् ।

अध्यक्ष खड्काले भने- ‘आगामी वर्षमा योजना निमार्ण गर्न सहयोग पुगोस् भन्ने हेतुले बृहत् छलफल कार्यक्रमको आयोजना गरेका हौ ।’ आदर्श गाउँपालिकामा दलहन, फलफूल, रैथाने बाली, तरकारी, मसला बालीको लागि बढी सम्भावित रहेकोले त्यस क्षेत्रमा पालिकाले आगामी दिनमा लगानी गर्ने लक्ष्य राखेको समेत अध्यक्ष खड्काले बताए ।

‘हाम्रो पालिकाभित्र अधिकांश अगुवा किसानहरूले कृषि क्षेत्रमा विभिन्न काम गरिरहेका छन् उनीहरू सँग सम्बन्धित केही समस्याहरू भए समाधानमा सहयोग पुगोस्, उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहजता होस भन्ने हेतुले विज्ञहरूसँग छलफल गरेका छौ’, उनले भने- छलफल कार्यक्रमले किसानहरूमा आगामी दिनमा नयाँ काम गर्न हौसला मिल्नुका साथै पालिकालाई आगामी योजना निमार्णमा सहयोग पुग्ने अध्यक्ष खड्काले बताए ।

कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले कार्यक्रममा आदर्श गाउँपालिका फलफूल, कफी, दलहन बालीको लागि बढी सम्भावित क्षेत्र रहेको बताएका छन् । निर्देशक जोशीले किसानहरूलाई ठुलो मात्रामा कृषि उपजहरू उत्पादन गर्न आग्रह गर्दै बजारीकरणमा समस्या नरहेको आफूले सहयोग गर्ने बताए । पालिकाले रैथाने बालीहरूलाई प्रवर्द्धन गर्न आवश्यक रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए ।

कार्यक्रममा आदर्श गाउँपालिकाका कृषि शाखा प्रमुख खेमराज पाठकले अगुवा किसानहरूले कृषि क्षेत्रमा आफूले गरिरहेका कार्यक्रम, भावी योजना र कार्यस्थलमा देखिएका चुनौतीहरूको बारेमा जानकारी गराएका थिए ।

छलफल कार्यक्रममा कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशी, कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थी, पालिकाका जनप्रतिनिधि, अगुवा किसानहरू लगायतको सहभागिता रहेको थियो ।