विपिनको रिहाइका लागि दोस्रो युद्धविरामका बेला ठोस पहल गर्ने : परराष्ट्रमन्त्री साउद

कञ्चनपुर । परराष्ट्रमन्त्री एनपी साउदले बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि दोस्रो युद्धविरामका बेला ठोस पहल गर्ने आश्वासन दिएका छन ।
कञ्चनपुर पुगेका परराष्ट्रमन्त्री साउदले कतारले हमास–इजरायल युद्धमा बेपत्ता पारिएका कञ्चनपुरका जोशीको रिहाइका लागि दोस्रो युद्धविरामका बेला ठोस पहल गर्ने आश्वासन दिएका हुन् ।
‘विपिन जोशीको रिहाइका लागि निरन्तर कतार सरकारसँग कुरा भइरहेको छ’ मन्त्री साउदले भने, ‘दोस्रो युद्धविरामका लागि गृहकार्य भइरहेको छ । दोस्रो युद्धविराममा विपिनको रिहाइका लागि ठोस पहल गर्ने आश्वासन कतार सरकारले दिएको छ ।’
यसअघि मंसिर पहिलो सातादेखि चार दिनसम्म चलेको युद्धविरामका क्रममा विपिनको रिहाइको अपेक्षा गरिएको थियो ।
हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो । तर त्योभन्दा बढी संख्यामा रिहाइ गरे पनि विपिन रिहाइ भएका थिएनन् ।
कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साउदले नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको माइन्यूटमा पञ्जेश्वर आयोजनाको काम एक महिनाभित्र सुरु गर्ने सहमतिको भएको बताएका छन् ।
‘संयुक्त आयोगको बैठकमा महाकाली र पञ्जेश्वरलाई एक महिनाभित्र सहमति गरेर सुरु गर्ने भनेर माइन्यूटमा हस्ताक्षर गरिसकेका छौँ’, मन्त्री साउदले भने, ‘६००० मेगावट भन्दा बढी विद्युत क्षमता राख्ने महाकाली सिचाईं परियोजना एउटा मेघा आयोजना हो । यो बनेपछि यहाँ रोजगारको पनि सिर्जना हुनेछ । भारत निर्यातका लागि १० वर्षभित्र १० हजार मेगावट विद्युत प्रतिवर्ष दिने गरेर सहमति भएको छ । त्यसमा हाम्रो हिस्साको ३ हजार मेगावट विद्युत हामीले बेच्न पायौँ भने हाम्रो अर्थतन्त्रमा पनि सुधार हुनेछ ।’
परराष्ट्रमन्त्री साउदले पञ्जेश्वर परियोजनामा भारत र नेपालका प्रधानमन्त्रीबीच छलफल भएको र अहिले टेक्निकल टोलीले यसमा काम गरिरहेको बताए ।





प्रतिकृया दिनुहोस्