February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

स्थायी बसोवास गर्ने गरी एक वर्षमै बिदेसिए ७१ हजार नेपाली

काठमाडौं । सन् २०२३ मा स्थायी बसोवास गर्ने गरी ७१ हजार नेपाली बिदेसिएका छन् । अध्यागमन विभागले सोमबार जारी गरेको तथ्यांकअनुसार सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थायी बसोवास गर्ने गरी ७० हजार नौ सय १५ नेपाली बिदेसिएका छन् । स्थायी बसोवासका लागि विदेश जानेमा ३६ हजार ६ सय ६३ पुरुष र ३४ हजार दुई सय ५१ महिला छन् ।  

विभागका अनुसार यस अवधिमा देश छाड्ने नेपालीको संख्या १६ लाख तीन हजार आठ सय ३६ छ । जसको ४.४२ प्रतिशत नेपाली स्थायी बसोवास गर्ने उद्देश्यले बाहिरिएका हुन् । खाडी मुलुकबाहेक युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देश जाने नेपालीको मूल उद्देश्य नै स्थायी बसोवासका लागि हुने गरेको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । यसमा डाइभर्सिटी भिसा (डिभी) परेर, ग्रिनकार्ड लिएर र स्थायी आवासको अनुमति (पिआर) लिएर बाहिरिने गरेको उनको भनाइ छ । ‘पर्यटन, अध्ययन जे भने पनि यताबाट गएका नेपाली नागरिक उता गएपछि स्थायी बसोवासका लागि पहल गर्ने गरेका छन् । खाडी मुलुक जाने नेपाली मात्रै फर्किने गर्छन्,’ उनले भने । 

विदेश जानेमा महिलाभन्दा पुरुषको संख्या बढी
नेपाल छोडेर विदेश जानेमा महिलाभन्दा पुरुषको संख्या बढी देखिन्छ । सन् २०२३ मा चार लाख ३२ हजार पाँच सय ८४ जना महिला बाहिरिँदा ११ लाख ७१ हजार एक सय ८६ जना पुरुष बिदेसिएका छन् । सबैभन्दा बढी रोजगारीको सिलसिलामा पुरुष जनसंख्या बिदेसिएको विभागको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारमा सात लाख २३ हजार सात सय ८९ पुरुष र ८४ हजार ६ सय चारजना महिला बिदेसिएका छन् । 

पुरुषको तुलनामा बढी महिला पारिवारिक भेटघाट र डिपेन्डेन्ट भिसामा विदेश जाने गरेको तथ्यांकले देखाएको छ । पारिवारिक र आफन्तजन भेटघाट प्रयोजनका लागि विदेश जाने महिलाको संख्या ९६ हजार ६ सय ७३ छ । ७० हजार आठ सय आठजना पुरुष विदेश गएका छन् । डिपेन्डेन्ट भिसामा विदेश जाने महिलाको संख्या १२ हजार पाँच सय २७ छ । पुरुषको संख्या आठ हजार ८६ छ । अस्थायी बसोवास गर्ने प्रयोजनले विदेश जाने नेपालीको संख्या ९२ हजार तीन सय ४९ छ । जसमा ५१ हजार आठ सय ७६ जना पुरुष र ४८ हजार पाँच सय ६२ जना महिला छन् ।

विभागका अनुसार स्वास्थ्य उपचारका लागि १९ हजार पाँच सय नौजना बिदेसिएका छन् । व्यावसायिक प्रयोजनका लागि १८ हजार नौ सय ६४ जना विदेश गएका छन् । औपचारिक भ्रमणको सिलसिलामा १६ हजार एक सय ११, संयुक्त राष्ट्रसंघको मिसनका लागि ६ हजार ५८, खेलकुद कार्यक्रममा भाग लिन तीन हजार ६ सय ५३, कन्सर्ट तथा सांस्कृतिक कार्यक्रममा भाग लिन एक हजार नौ सय ६४ जना विदेश गएको विभागले जनाएको छ । 

नेपाली मूलका विदेशमा बस्ने नेपालीको संख्या ३२ जना मात्रै छ । अन्य प्रयोजनमा ३२ हजार तीन सय ५९ जना विदेश गएको विभागले जनाएको छ । विदेशमा आफ्नो परिवारको सदस्य वा आफन्तसँग भेटघाट गर्ने उद्देश्यले बाहिरिने नेपालीको संख्या एक लाख ६७ हजार चार सय ८५ छ । 

पर्यटन तथा धार्मिक भ्रमणका लागि विदेश जानेको संख्या दुई लाख चार हजार पाँच सय १८ छ । पछिल्लो समय पर्यटन प्रयोजनमा विदेश जाने नेपालीहरूले विदेशमै भिसा परिवर्तन गरी बसोवास गर्न थालेको विभागका महानिर्देशक तामाङले बताए । ‘यहाँबाट पर्यटन भिसामा विदेश जान्छन्, तर उता गएपछि भिसा कन्भर्ट गर्न थालेको देखिन्छ । जसकारण नेपालीहरू विदेशमा अलपत्र पर्ने गरेको घटनाक्रमले देखाएको छ,’ उनले भने । घुमघाम प्रयोजनका लागि विदेश जाने पुरुष एक लाख ३० हजार ९ सय २६ र महिला ७३ हजार पाँच सय ७५ जना छन् । तालिम, सेमिनार र गोष्ठीका लागि भन्दै २४ हजार दुई सय ६३ नेपाली बिदेसिएका छन् । 

नेपालीको प्रमुख गन्तव्य युएई, छैटौँमा अस्ट्रेलिया
सन् २०२३ मा विदेश जाने नेपाली नागरिकको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । यो अवधिमा दुई लाख ७१ हजार ८८ जना नेपाली युएई गएका छन् । दोस्रो गन्तव्य मुलुक भारत र तेस्रोमा कतार छ । एक लाख ८० हजार नेपाली भारत र एक लाख ७९ हजार चार सय ४१ जना कतार गएका छन् । मलेसिया जाने नेपालीको संख्या एक लाख ६५ हजार दुई सय एकजना पुगेको छ । एक लाख ३६ हजार दुई सय तीनजना साउदी अरब पुगेका छन् । एक लाख पाँच हजार तीन सय ४३ जना अस्ट्रेलिया गएको विभागको तथ्यांकले देखाएको छ । सातौँ प्रमुख गन्तव्यमा जापान छ, जहाँ ८२ हजार सात सय ७२ नेपाली गएका छन् । अमेरिका जानेको संख्या ६७ हजार आठ सय १० र बेलायत जाने ५३ हजार चार सय एकजना छन् ।

उपल्लो मध्यमवर्गका मानिस बाहिरिनु जोखिम
न्यून आय भएका र तल्लो मध्यमवर्गका मानिस बाहिरिनुभन्दा उपल्लो मध्यमवर्गका मानिस बाहिरिनु जोखिमपूर्ण रहेको समाजशास्त्रीहरूको विश्लेषण छ । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय समाजशास्त्र विभागका उपप्राध्यापक डा. दीपेश घिमिरेले नेपालमा हुनेखाने र सम्पन्न वर्गका मानिससमेत बिदेसिनुले चुनौतीपूर्ण अवस्था सिर्जना गरेको बताए । ‘न्यून आय भएका र तल्लो मध्यमवर्गका मानिस खाडी मुलुक गएका छन् । उनीहरूलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्ने हो भने फर्किन सक्छन् । तर, काठमाडौंमा घर भएका र देशमा केही गर्न सक्ने वर्ग नै बाहिरिनु चुनौतीपूर्ण छ,’ उनले भने । पछिल्लो समय युवापुस्तामा आशा जगाउन नसक्दा सम्पन्न र सक्षम वर्गसमेत बिदेसिने लहर बढेको उनको भनाइ छ । ‘युवापुस्ताले नेपालमा भविष्यप्रतिको सुनिश्चितता देख्न सकेका छैनन् वा देखाउन सकिएको छैन । त्यसैले, हामीले उनीहरूलाई आशाको किरण देखाउन सक्नुपर्छ,’ उनले भने ।

भारत, चीनबाट बिदेसिने युवापुस्तामा स्वदेश फर्किनुपर्छ भन्ने चेतना बढी भएको र नेपालमा युवापुस्ता निराशातर्फ उन्मुख भएको उनको विश्लेषण छ । नेपालप्रति युवापुस्ताको निराशावादको जडको रूपमा उनले राजनीतिक र ब्युरोक्रेटिक सिन्डिकेटलाई मानेका छन् । ‘नेपालमा विदेश गएकालाई होच्याएर भगौडा भन्ने गरेका छन् । हामीले त उनीहरूको सीप र ज्ञानलाई स्वदेशमै सदुपयोग गराउन प्रोत्साहन गर्नुपर्ने हो । तर, यस्तो नहुँदा युवापुस्तामा बिदेसिने लहर बढेको हो,’ उनले भने ।

नेपालीहरू श्रम स्वीकृति नलिई पनि विदेश जाने गरेको तथ्यांकले देखाएको छ । यसरी विदेश जानेमा आठ हजार ८६ जना छन् । यस्तोमा प्रायः मौसमी भिसा (सिजनल) अन्तर्गत जाने गरेको महानिर्देशक तामाङको भनाइ छ । ‘अध्ययनका लागि अस्ट्रेलिया, अमेरिका जाने नेपालीहरूले पनि त्यहाँ काम गरिरहेकै छन् । यद्यपि, हाम्रो तथ्यांकले नेपालबाट बाहिरिँदा उनीहरूले खुलाएको प्रयोजनलाई मात्रै आधार मानेको छ,’ उनले भने ।

बिदेसिने लहरमा परेर अवसरको खोजीमा भौँतारिने युवापुस्ता द्वन्द्वग्रस्त मुलुकमा समेत फस्ने गरेका छन् । अहिले रुस र युक्रेनबीच तनाब बढिरहेको समयमा नेपालीहरू त्यहाँ पुगेर ज्यान गुमाइरहेको तथ्य बाहिर आइरहेको छ । रुस जाने नेपालीको संख्या एक हजार ९५ जना पुगेको विभागले जनाएको छ । युक्रेन जानेको संख्या ९५ छ । यस अवधिमा आठ सय ७४ जना इजरायल पुगेका छन् । नयाँपत्रिकाबाट