April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढीबाट शेख मुनिर अहमदलाई लियो प्रहरीले नियन्त्रणमा

धनगढी । धनगढीका शेख मुनिर अहमदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनलाई आईतवार अपरान्ह एक पुरानो मुद्दाको छलफलका लागि कैलाली जिल्ला प्रशासन कार्यालयमा आएको समयमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालका अनुसार शेख मुनिर पुरानो मुद्दाको बयानका लागि जिल्ला प्रशासन कार्यालय कैलाली पुगेका थिए। गाडी कब्जा गरेको अभियोग लागेका शेख मुनिरलाई बयानपछि जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले नियन्त्रणमा लिएको हो।

शेख मुनिरलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनुवा कक्षमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा उनी विरुद्ध पुराना मुद्दाहरु छन्। पुराना मुद्दाको फाइलहरु खोल्न सुरु गरेको प्रहरी उपरीक्षक पालले बताए। अन्य पीडितहरूलाई समेत जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क गर्न भनेको उनले बताए।

शेख मुनिर अहमदविरुद्ध कैलाली प्रहरीमा कब्जा, ठगी, मिटर व्याज, जग्गा हड्पेको, चेक अनादर, अभद्र व्यवहार लगायतका पुराना मुद्दाहरू रहेको प्रहरी जनाएको छ। शेख मुनिर पक्राउ परेपछि पिडीतहरु सम्पर्कमा आउने क्रम शुरु भएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि जग्गा कब्जा, ठगी, मिटरव्याज, जग्गा हडपेको, अभद्र व्यवहार, थुप्रै सर्वसाधारणलाई घरवार बिहीन बनाएको लगायतका थुप्रै अपराधिक घट्नामा मुछिएका शेख मुनिरको प्रहरी खोजी गरिरहेको थियो ।

मुनिरबाट पिडीत व्यक्तिले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा शेख मुनिर पक्राउ गरेको प्रहरी उपरीक्षक पालले बताए । एसपी पालले शेख मुनिरलाई एक जनाको गाडी कब्जा गरेको आरोपमा पक्राउ गरेको र थप अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको बताए ।

प्रहरीले उनी बिरुद्ध आउने सबै मुद्दा दर्ता गरी कारबाही गर्ने जनाएको छ । उनलाई यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक अपराधको मुद्दामा दोषी ठहर गरेको थियो । सो निर्णयका बिरुद्ध उनी जिल्ला अदालत गए । जिल्ला अदालतले पनि जिल्ला प्रशासन कार्यालयको फैसला सदर गरेको थियो ।

पर्सा स्थायी घर भएका शेख मुनिर त्यहाँ अपरहणको मुद्दा दर्ता भएपछि  भागेर धनगढी आएको बताईन्छ । त्यसयता उनी धनगढी उपमहानगरपालिका–१ एमाले पार्टी कार्यालय छेउको घरमा बस्दै आएका थिए ।