नेता कार्यकर्ता रिहाइको माग गर्दै राप्रपा कञ्चनपुरले गर्यो बजार बन्द, जनजीवन प्रभावित

कञ्चनपुर । राप्रपा कञ्चनपुरले शनिबार महेन्द्रनगर बजार बन्द गराएको छ । किसान नेता भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्नलाई निःसर्त छाड्नुपर्ने माग गर्दै राप्रपाले शनिबार महेन्द्रनगर बजार बन्द गराएका हुन ।
शहीद पन्तको शालिक तोडफोड गरेको आरोपमा प्रहरीले शुक्रबार राप्रपाका जिल्ला सचिव शिशिर थापासहित १८ जनालाई पक्राउ गरेको थियो । पन्तको शालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका २ महिलासहित १८ जना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै राप्रपाले महेन्द्रनगर बजार बन्द गरेको हो ।
बन्दका कारण बजार क्षेत्र पूर्ण रुपमा बन्द गरिएको छ । यातायातका सवारीसाधन भने फाटफुट रुपमा चले पनि लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् । राप्रपाको बन्दका कारण कञ्चनपुर सदरमुकाम समेत रहेको महेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बन्दका कारण बजार व्यवसाय सञ्चालन हुन नसकेको बताएका छन् । महेन्द्रनगरबाट लामो तथा छोटो दूरीका सवारीसाधन समेत चल्न सकेका छैनन् ।

तोडफोडमा संलग्न रहेकाहरुलाई भिडियोका आधारमा नियन्त्रणमा लिइएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले बताए, ‘कारबाही गर्ने विषयमा छलफल भइरहेको छ ।’
प्रहरीले शालिक तोडफोडमा संलग्न भएको भन्दै राप्रपाका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावलसहितका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई आइतबार अदालत पेश गर्ने तयारी गरेको छ ।
राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले भने- ‘हाम्रा नेता कार्यकर्ताका निःसर्त रिहाइको लागि बन्द गरिएको हो, आज रिहाइ नभए आइतबारदेखि अनिश्चितकालीन सुदूरपश्चिम बन्द गर्छौ।’
राजसंस्था पुनःस्थापनाको माग गर्दै शुक्रबार भएको प्रदर्शनका क्रममा स्थानीय भीमदत्त उद्यान (पार्क) भित्र प्रवेश गरेर शहीद पन्तको शालिक तोडफोड गरेको प्रहरीको आरोप रहेको छ ।
राप्रपाको प्रदर्शनका क्रममा भीमदत्त उद्यानको मूल गेटमा लेखिएको नाम र शहीद भीमदत्त पन्तको शालिक शुक्रबार तोडफोड भएको थियो । महेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शन गर्न निस्किएको भीड एकाएक पार्कभित्र प्रवेश गर्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
राप्रपाले भने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाएको छ । जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेर पक्राउ गरेका १८ जना नेता तथा कार्यकर्ताको निशर्त रिहाइको माग गरेका छन् ।





प्रतिकृया दिनुहोस्