April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढी बजारमा भीषण आगलागी, एक अस्पतालसहित आठ पसलमा क्षति

धनगढी । धनगढी बजारमा भीषण आगलागी भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका –१ मा आगलागी हुदाँ सारथि अस्पतालसहित ८ वटा पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।

अस्पतालसंगै जोडिएर बनेको जुत्ता चप्पलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताल नै ध्वस्त भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्षदेखि करोडौँको लगानीमा सञ्चालनमा आएको अस्पताल आगलागीले ध्वस्त बनेको छ ।

अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीका अनुसार अचानक आगलागी हुँदा त्यहाँ उपचाररत बिरामीलाई राति नै अन्यत्र सारिएको थियो ।

मानवीय क्षति नभए पनि आगलागीले अस्पतालका यन्त्र उपपकरणहरुमा ठुलो क्षति भएको बताउँदै उनले क्षतिको विवरण तत्काल आकलन गर्न  गाह्रो भएको बताए । आगलागीबाट अन्य आधा दर्जन बढी पसलमा समेत क्षति पुगेको छ ।

प्रहरीका अनुसार गए राति १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको अस्पतालसंगै भण्डारी जनरल स्टोरमा अचानक विद्युत् सर्ट भई आगलागी हुदाँ आगो फैलिएर भण्डारी जनरल स्टोर सहित टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप (बेवी सप) को गोदाम, बासुदेव भट्टको भट्ट सपिङ्ग सेन्टर (ब्याग हाउस), जगत बहादुर बलायरको सुभिक्षा देवी सपिङ् सेन्टर (कपडाको गोदाम), यसोदा साउदको न्यु सदिक्षा ईन्टरप्राईजेज (कपडा,जुत्ता,व्यागको गोदाम), गौरी भण्डारीको भण्डारी सु-सेन्टर (जुत्ता चप्पलको गोदाम), सारथी अस्पताल र जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (व्याग हाउस) मा लाखौ रुपैयाको नोक्सानी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको थियो। त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो ।

घटनामा मानवीय क्षति नभए पनि अन्य क्षतिको पूर्ण विवरण आइसकेको छैन । 

तस्बिरहरूः 

3-1700275547.jpg
4-1700275547.jpg
5-1700275547.jpg
2-1700275546.jpg
1-1700275546.jpg