April 18, 2026, Saturday
२०८३ बैशाख ५

मदिरा चोरी गरेको निहुँमा एक युवकको हत्या, पसल सञ्चालक पक्राउ

धनगढी । धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले धनगढी उपमहानगरपालिका– १६ बेहडाबाबा नजिकै बाँसको लाठी प्रहार गरेर सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापाको हत्या गरिएको बताएका हुन ।

प्रवक्ता डीएसपी चन्दले स्थानीय व्यापारी कृष्ण सेट्टीले बाँसको भाटाले प्रहार गरेपछि बेहोस भएका थापा मृत अवस्थामा फेला परेको जानकारी दिए ।
उनका अनुसार सोमवार दिउँसो मदिरा चोरी गरेको आरोपमा बाँसको भाटाले थापामाथि सेट्टीले कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भएका थापाको घरमा मृत्यु भएको हो ।

बेहडाबाबामा पसल सञ्चालन गर्दै आएका सेट्टीले आफ्नो पसलबाट मदिरा चोरी गरेकाले थापामाथि कुटपिट गरेको स्वीकार गरेको छ । सेट्टीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ भने मृतक थापाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।