February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

पहिलेका पुस्ताले बनाएका धर्मशाला लोप हुँदै

बाजुरा । पहिलेका पुस्ताले बनाएका बाजुरामा धर्मशाला लोप हुँदै गएका छन् । नुनु, तेल ल्याउनका लागि हाट जाने बेला हटारुलाई बास बस्न सहज हुने गरी बनाएका धर्मशाला पछिल्लो पुस्ताले खासै चासो नदेखाउँदा लोप हुँदै गएका हुन् ।

त्रिवेणी नगरपालिका वडा नं–८ का दिनेश सार्कीले, पहिलेका पुस्तालाई दैनिक उपभोग्य सामाग्री ल्याउन झन्डै दुई हप्ता लाग्ने गरेको बताए । उनले भने , “ती हटेरुहरुलाई बास बस्न सहज हुने गरी गाउँका धर्मीहरूले गोरेटो, घोरेटो बाटोको बिच बिचमा धर्मशाला निर्माण गर्ने गरेको बताए ।”

मनमा शान्ति हुने र पछिल्लो पुस्ताका लागि पनि राम्रो सन्देश दिने गरी गाउँका अगुवाले जिल्लाका विभिन्न ठाउँका बाटोमा धर्मशाला बनाउने गरेको सार्की बताए । पहिलेका मानिस साइतमा जाँदा बाटोमै रात परेपछि त्यसै धर्मशालामा बास बस्ने गथ्र्ये ।

यसले गर्दा एकतर्फ पैसा बचत हुन्थ्यो भने अर्को तर्फ सुरक्षित हुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।बाजुराका विभिन्न ठाउँमा देखिने धर्मशाला अहिले बिस्तारै लोप हुँदै गएका छन् । बाजुराको पोरखेलेख , पौवा , नागेश्वरी, अछामको बुढामगर टोटासाल लगायतका धर्मशाला समेत पछिल्लो समयमा लोप हुँदै गएका छन् ।

अहिले ती अधिकांश धर्मशालाको नाम निसान छैन । ती धर्मशाला केही ध्वस्त भएका छन् भने केही अहिले पनि भग्नावशेष अवस्थामा रहेका छन् । बाजुराको पोरखेलेखमा रहेको धर्मशाला पनि अहिले भग्नावशेष अवस्थामा देखिएको छ । 

जिल्लाको पूर्व उत्तर क्षेत्रमा रहेका हिमाली , जगनाथ, स्वामिकार्तिक खापर , बूढी नन्दा लगायतका स्थानीयहरूलाई हाट जाँदा रात परेपछि त्यसैमा बास बस्ने गरेको पाण्डुसैनवासी बताउँछन् । बाबु बाजेहरूले हाट ल्याउन जाने आउने हटारु अर्थात् बटुवाका लागि बास बस्न सहज हुने गरी धर्मशाला बनाएको थियो । अहिले गाउँमा गाडी पुगेसँगै यो धर्मशाला पनि भग्नावशेष अवस्थामा रहेको बुढी नन्दा नगरपालिका –९ का स्थानीय पदम रोकायाले बताए ।

उनले भने, “पुस्ताले भारतको टनकपुर नेपालको राजापुर , दिपायल डोटीबाट हाट ल्याउने समय बास बस्न सहजताका लागि बनाएका धर्मशाला पछिल्लो पुस्ताले चासो नदेखाएकोले बिस्तारै लोप हुँदै गएका हुन् ।”

पहिला बाजुराको सबै सरकारी काम काज दिपायल , डोटी नै हुने  गर्थ्यो । त्यति बेला यहाँका स्थानीय सो काम लागि दिपायल नै जाने गथ्र्ये । त्यहाँ जाने आउनेहरूलाई बाटोमा बस्न सहज हुने गरी पुस्ताले विभिन्न ठाउँमा धर्मशाला बनाउने गरेको रोकायाले बताउनुभयो । पछिल्लो समय देशमा विकास भएसँगै गाउँमा बस्तीमा मोटर बाटो जोडिँदै गएपछि धर्मशाला पनि बिस्तारै लोप हुँदै गएका छन् ।

पहिलेका पुस्ता घरबाट आउँदा हाटबाट फर्किदा जहाँ धर्मशाला छन् त्यति सम्म अनिवार्य पुग्ने गरी हिँड्ने गथ्र्ये । घरबाट डोकोमा सामल बोकेर लिने गथ्र्ये । उनीहरू टनकपुर, राजापुर दिपायल लगायतका विभिन्न ठाउँबाट हाट ल्याउन गएको बेला त्यही धर्मशालामा खाना पकाएर खाने त्यसैमा बास बस्ने गथ्र्ये ।

धर्मशालामा जो पहिला पुग्यो त्यो राम्ररी बास बस्न पाउँथ्यो भने पछि पुग्नेहरू त्यो धर्मशालाको आडले पनि बाहिर पट्टी बास बस्ने गथ्र्ये । हाटमा जाने बेला रात परेपछि चोर डाँका तथा जङ्गली जनावरबाट बच्न सहज हुने गरी समाजका अगुवा अर्थात्  धर्मीहरूले बाटो बाटोमा धर्मशाला बनाउने गथ्र्ये ।

अहिले आफू गाडीमा आउँदा कहिले काहीँ ती जीर्ण बनेका धर्मशाला देखिने गर्दछन् । गोरखापत्रबाट