April 18, 2026, Saturday
२०८३ बैशाख ५

महाकाली नदीले पार गर्‍यो सतर्कता तह, सतर्कता अपनाउन आग्रह

डडेलधुरा । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। डडेलधुराको पारिगाउँ स्टेशनको मापन अनुसार महाकाली नदीले बिहान सतर्कता तह पार गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा रहेका महाकाली, सेती लगायतका नदी जलसहत बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ। महाकाली नदीको जलसतह अहिले ५.८३ मिटर मापन भएको छ।

बाढी पूर्वानुमान् महाशाखाका अनुसार ५.८० मिटरको जलसतहलाई सतर्कता तह र ७ मिटरलाई खतराको तह मानिन्छ।

सुदूरपश्चिम प्रदेशको डडेलधुरा, दार्चुला, डोटी र आसपासका क्षेत्रहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो मध्यम वर्षा हुने पूर्वानुमान् छ।

प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाले महाकाली र सेती नदीको जलसतह अझै बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।