विद्यालयमा पढाइदेखि घरजमसम्म !

सुर्खेत। झट्ट सुन्दा शिक्षा आर्जन गर्ने थलो विद्यालय हो । तर सुर्खेतको वीरेन्द्रनगर-४ मा एउटा यस्तो विद्यालय छ, जहाँ अनाथ बालबालिकाको पढाइ मात्र हुँदैन, पालनपोषणदेखि बिहेवारीसमेत विद्यालयले आफ्नै व्यवस्थापन र खर्चमा गरिन्छ ।
वीरेन्द्रनगरस्थित एसओएस बालग्राममा १४ वटा घरको एउटा सानो गाउँ छ । जहाँ १४ जना आमाले २० देखि ३० अनाथ बालबालिका स्याहार गरिरहेका हुन्छन् । भर्खर जन्मिएकादेखि हिँडडुल गर्ने अवस्थाका बालबालिकालाई सम्हाल्दै आएका ती आमाहरू भने सबै कर्णाली बाहिरका हुन् । बालबालिका पढाइ सकेर बिहेवारी गरेसँगै त्यहाँ उनीहरूको रेखदेख गर्ने आमाहरू पनि ‘रिटायर्ड’ हुने गर्छन् ।
अहिले बालग्रामको एउटा घरमा ७ देखि ९ बालबालिका बस्छन् । ‘आमाबुबा गुमाएका बालबालिकालाई आफ्नै घरको महसुस होस् भनेर सबै घरमा एकएक आमाको व्यवस्था गरिएको हो, आमाहरूले आफूले हेरिरहेका बालबच्चालाई के चाहिन्छ आफैं किन्छन्,’ बालग्रामका निर्देशक गोपालप्रसाद घिमिरेले भने, ‘उनीहरूका सबै आवश्यकता पूरा गरिदिन आमालाई नियुक्त गरिएको हो ।’ उनका अनुसार अनाथ बालबालिकालाई अभिभावकविहीनको महसुस हुन नदिन आमा, बुबा, काका, काकी, मामा, दाइ, दिदी, भाइ, बहिनीलगायतका नाता सम्बन्ध पनि विभिन्न व्यक्तिसँग कायम गरिएको छ ।
बालग्रामभित्रै विद्यालय छ भने स्वास्थ्य चौकी, सामुदायिक केन्द्र, नाचघर, खेलकुद मैदानजस्ता संरचना पनि बनाइएका छन् । अन्तर्राष्ट्रिय बालग्रामबाट आउने सहयोगबाट सञ्चालित एसओएसमा एसईईसम्मको पढाइ सुविधा छ । यहाँ पढेपछि बालबालिका नेपालगन्जस्थित एसओएस बालग्राम जान्छन् ।
बालग्रामले उमेर पुगेर बिहे गर्न चाहेपछि अभिभावकविहीन युवायुवतीलाई बिहे खर्चसमेत उपलब्ध गराउने गरेको छ । छोरीको कन्यादान बालग्राममै नियुक्त भएका आमा–बुबाले गरिदिने गर्छन् । ‘छोरीहरूलाई विवाह गर्न २ लाख रुपैयाँ खर्च दिने गरेका छौं,’ निर्देशक घिमिरेले भने, ‘बिहे युवायुवतीको चाहनाअनुसार बालग्रामदेखि पार्टी प्यालेससम्म हुने गर्छ ।’
अहिले युवायुवतीले जागिर खाएरमात्र विवाह गर्न थालेको बालग्रामकी कर्मचारी (आमा) रुमाया गुरुङले बताइन् । ‘बालग्राममै बिहे गर्नुपर्छ भन्ने छैन,’ उनले भनिन्, ‘कतिपयले आफ्नै खर्चमा पनि विवाह गरिरहेका छन् ।’ अहिले पनि बालग्राममा पुराना छोराछोरी नातिनातिना बोकेर आउने गरेको बालग्रामकी आमा लमजुङकी ५३ वर्षीया मीठु पन्तले बताइन् । उनी ३० छोराछोरी हुर्काएर गत वर्षमात्र ‘रिटायर्ड’ भएकी हुन् । उनले आफूले १० छोराछोरीको बिहे आफ्नै हातले गरिदिएको बताइन् । उनका अनुसार अहिले उनीहरूबाट १९ नातिनातिना छन् । अधिकांश सरकारी जागिरे रहेको उनको भनाइ छ । नजिक बिहे भएकाहरू सुत्केरी खर्च लिनसमेत आउने गरेको उनको भनाइ छ । उनका अनुसार बालग्राममा आश्रित भएका युवायुवती सुत्केरी भए १५ हजार रुपैयाँ सुत्केरी खर्च पनि दिने गरिएको छ ।
अवकाशमा गए पनि आफूले हुर्काएका छोराछोरीको मायाले सुर्खेत बाहिर जान नसकेको उनको भनाइ छ । ‘छोरीहरू बेलाबेलामा भेट्न आउँछन्, बालबच्चाको आँसु लाग्छ भनेर छाडेर जान मन लाग्दैन,’ पन्त भन्छिन्, ‘आमाको मुख हेर्ने दिन एउटै छोराले ५० हजार रुपैयाँ पठायो, अरूले पनि सानोतिनो सरसहयोग गरिरहेकै छन्, उनीहरूलाई स्याहार गरेबापत हामीलाई पनि ठूलो खुसी प्राप्त भएको छ ।’ उनले हुर्काएका एक छोरा र दुई छोरी अमेरिका छन् ।
धादिङकी विष्णु अधिकारी २०४३ सालदेखि बालग्रामभित्र बस्दै आएकी छिन् । उनले अवकाश पाएको ५ वर्ष भयो । तर अझै पनि बालग्राम छोड्न नसकेको उनको भनाइ छ । ‘यहाँ छाडेर बाहिर जान मनै लागेन,’ उनले भनिन्, ‘सबै इष्टमित्र र नातेदार यहीभित्र छन् कि जस्तो लाग्छ ।’ ६० वर्ष पुगेर अवकाश पाएकी उनले ३२ बालबालिकाको स्याहार गरिन् । उनले ४ छोरी र ३ छोराको बालग्रामभित्रैबाट रीतिरिवाजअनुसार बिहे गराएको बताइन् । उनका अनुसार ५ छोराले व्रतबन्ध गरे । ‘हरेक चाडपर्वमा सम्झिन्छन्, मैले हुर्काएका छोराछोरी डाक्टर, इन्जिनियर, नर्स र सरकारी जागिरे छन्,’ उनले भनिन्, ‘अझै ५ छोरी र ४ छोराले तपार्इंले नै हाम्रो विवाह गराइदिनुपर्छ भनेका छन्, त्यसैले उनीहरूको पनि विवाह गराउने धोको छ ।’
बालग्रामबाट १२ जना आमा लामो समय काम गरेर ‘रिटायर्ड’ भएका छन् भने ७ जना आमा भित्रै आवास गृहमा पेन्सन बुझेर बसिरहेका छन् । एसओएसकी कर्मचारी रुमाया गुरुङले कोही नहुने सडकबाट उठाएर ल्याएका बालबालिकाको भविष्य उज्ज्वल भएको देख्दा आफूलाई भाग्यमानी सम्झिरहेको बताइन् । कतिपय आमाले आफ्नो तलबबाट छोराछोरीका नाममा घरजमिन पनि जोडिदिएको उनको भनाइ छ । ‘केही छोराछोरीले पनि रिटायर्ड भएका आमालाई बिहेपछि घर किनेर आफूसँग राखेका उदाहरण पनि छन्,’ उनले भनिन्, ‘अहिले त मेरो संसार पनि यही बालग्राम हो जस्तो लाग्छ ।’
सुर्खेतमा ३५ वर्षअघि स्थापना भएको बालग्राममा अहिले १ सय १२ बालबालिका अध्ययनरत छन् । अनाथ बालबालिका पढाउन र स्याहारसुसार गर्न भने ठूलो चुनौती रहेको निर्देशक घिमिरेले बताए । फरक जाति, भाषा, धर्म र रहनसहन भएका बालबालिकालाई एकै ठाउँमा राख्दा आमाहरूले पनि उनीहरूलाई हुर्काउन संघर्ष गरेका छन् । उनका अनुसार बालग्राममा कार्यरत आमाहरू खुला दरखास्त आह्वान गरी छानिएर आएका हुन् ।
बालग्रामले आफूहरूलाई शिक्षादेखि अन्य सबै आवश्यकता पूरा गराएर पुनर्जन्म दिएको विद्यालयका विद्यार्थी बताउँछन् । बालग्रामकी विद्यार्थी नूतन अधिकारीलाई जन्मिएको ३ महिनामै उनका बुबाले एसओएसको गेटमा ल्याएर छाडेका थिए । उनलाई विष्णु अधिकारीले स्याहारसुसार गरिन् । उनैको नामबाट अहिले नूतनको नागरिकता बनाएको बालग्रामले जनाएको छ ।
नूतनले ३ वर्षअघि बालग्रामबाटै ११ कक्षा पढेर विवाह गरिन् । उनका पति–पत्नी दुवैले एक गैरसरकारी संस्था सञ्चालन गरिरहेका छन् । ‘मैले बालग्राम र आमाकै अनुमतिमा विवाह गरेकी हुँ,’ उनले भनिन्, ‘बालग्रामबाटै मेरो कन्यादान भयो, मेरो घर कहाँ हो, बाबाको नाम के हो, थर केहो केही थाहा छैन, त्यसैले विष्णु आमाकै नामबाट नागरिकता लिएकी छु ।’
बालग्रामले आफूलाई पहिचानसँगै सबथोक दिएको उनको भनाइ छ । ‘म यहाँ हुन्थेन भने सुखी हुन्थेन, रगतभन्दा भावनाको नाता पवित्र हुन्छ भन्ने कुरा बालग्रामले प्रमाणित गरेको छ,’ उनले भनिन्, ‘अहिले मसँग आमाबाबा दाजुभाइ सबै छन्, बालग्रामभित्र कहिल्यै एक्लो महसुस भएन, अहिले चाडपर्व आयो कि बालग्राममा आएर रमाउँछु ।’ कान्तिपुर दैनिकबाट





प्रतिकृया दिनुहोस्